धूम्रपानले बढायो हृदयाघातको दायरा

नेपालमा सन् २००३ मै सुर्तीजन्य पदार्थको नियन्त्रणसम्बन्धी सन्धिमा हस्ताक्षर गरे पनि नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन । परिणामस्वरूप नेपालमा सुर्तीजन्य पदार्थ प्रयोगका कारण हुने मृत्युदर बढ्दै गएको छ । १४.९ प्रतिशत मानिसको मृत्युको कारण सुर्तीजन्य पदार्थ सेवन नै रहेको विभिन्न अनुसन्धानले देखाएको छ ।

ती अनुसन्धानका अनुसार सुर्तीजन्य पदार्थ सेवनबाट हुने विभिन्न प्रकारका रोगका कारण नेपालमा दैनिक ७० जनासम्मको मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थ सेवन गरेका कारण निम्तिने रोगबाट बर्सेनि २५ हजारभन्दा नेपालीको मृत्यु हुने गरेको सरोकारवालहरू बताउँछन् ।

सहिद गंगालाल हृदय रोग केन्द्रका निर्देशक तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीका अनुसार हृदयाघात प्रायः ४० वर्षमाथिको उमेर समूहका मानिसलाई हुने गरे पनि पछिल्लो समय २० देखि २५ वर्षका युवामा पनि हुने गरेको छ । यसको मुख्य कारण सुर्तीजन्य पदार्थ सेवन नै रहेको उनको भनाइ छ ।

‘पहिला पहिला ४० वर्ष मुनिका मानिसमा हृदयाघात हुँदैन भन्ने थियो तर, अहिले ४० वर्षभन्दा कम उमेरका मानिस पनि हृदयाघात भई अस्पताल आउँछन्,’ उनले भने । २०–२५ वर्षको उमेरमा हृदयाघात भएर अस्पताल पुग्ने अधिकांश चुरोटका अम्मली पाइएको डा. अधिकारी बताउँछन् ।

उनका अनुसार गंगालाल अस्पतालमा हृदयाघात भएर उपचारका लागि आउने बिरामीको अध्ययन गर्दा ६४ प्रतिशतले चुरोट सेवन गर्ने गरेको पाइएको छ । हृदयाघात उमेर, वशांणुगत र सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको उनको भनाइ छ ।

धूम्रपानले बढायो हृदयाघात, महिलालाई जोखिम बढी

गंगालाल अस्पतालमा सन् २०१२ मा हृदयाघात भएर पुगेका ४९५ जनामध्ये ९७.८ प्रतिशतले धूम्रपान गरेको पाइएको थियो । यद्यपि ती सबै हृदयाघात धूम्रपानकै कारण मात्र भएको भन्न सकिने अवस्था नरहे पनि सन् २०१८ मा हृदयाघात भई सोही अस्पतालमा उपचार गर्न पुगेका एक हजार ५५७ मध्ये ५७ प्रतिशतचाहिँ धूम्रपानकै कारण हृदयाघात भएको पाइएको थियो ।

हृदयाघात पुरुषको तुलनामा महिलामा कम हुने चिकित्सकहरू बताउँछन् । विभिन्न अध्ययनले १८ देखि ३९ वर्षसम्मका चुरोट सेवन गर्ने पुरुषभन्दा महिलामा हृदयाघात हुने सम्भावना १३ गुणा बढी हुने देखाएको छ । धूम्रपान र परिवार नियोजनको चक्की सेवनका कारण पनि कतिपय महिलालाई हृदयाघातको जोखिम हुने विज्ञहरू बताउँछन् । यद्यपि हृदयाघात महिलाको तुलनामा पुरुषलाई बढी हुने अध्ययनले देखाएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रकाश शाहका अनुसार चुरोट सेवन गर्दा फोक्सोमा असर गर्ने, यसरी असर गरेको भागमा व्याक्टेरिया देखिने र क्षयरोग हुने गर्दछ । सुर्तीजन्य पदार्थ सेवन गर्दा क्षयरोग हुने सम्भावना उच्च हुने भएकाले मद्यपान, धूम्रपान गर्न नहुने डा. शाहको भनाइ छ ।

न्यून आय भएका नागरिकले बढी मात्रामा सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख डा. प्रदीप ज्ञवाली बताउँछन् ।

सुर्तीजन्य पदार्थ सेवनकै कारण हृदयाघात, विभिन्न किसिमका क्यान्सरजस्ता नसर्ने रोगको शिकार हुने क्रम बढेको विश्व स्वास्थ्य संगठनकी डा. लोनिम प्रसाईं दीक्षितको ठहर छ । नसर्ने रोगको उपचारका लागि ठूलो धनराशि नेपालीले खर्चिनु परेको उनले सुनाइन् ।

सुर्तीजन्य पदार्थमा कर बढाउन सुझाव

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सुर्तीजन्य पदार्थमा कर ७५ प्रतिशत पुर्‍याउन निर्देशन दिएको छ । तर, नेपालमा भने यस्ता पदार्थमा ३६ प्रतिशतमात्रै कर लगाइएको छ । डब्लूएचओकी डा. दीक्षितले भनिन्, ‘सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्छ । नेपालमा सुर्तीजन्य पदार्थको सेवन विपन्न परिवारले नै बढी गरेका कारण करको दर बढाउँदा त्यस्ता परिवारले यसको सेवन त्याग्न सक्ने उनको ठहर छ ।

‘सुर्तीजन्य पदार्थ सेवन गर्नेको सङ्ख्या कम गर्न राज्यको मात्रै भूमिका हुँदैन,’ उनले भनिन्, ‘चुरोट, खैनी, बिँडी, हुक्का आदि छाड्न स्वयं व्यक्तिको महत्त्वपूर्ण भूमिका हुन्छ ।’

सुर्तीजन्य पदार्थको विज्ञापन अप्रत्यक्षमा भइरहेको उनको भनाइ छ । सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरूको प्रत्यक्ष पहुँच नीति निर्माण तहमा भएकाले कानुन कार्यान्वयनमा समस्या भइरहेको जनस्वास्थ्यविज्ञहरु बताउँछन् ।

द युनियन एसिया प्यासिफिक रिजनल निर्देशक डा. तारासिंह बमले नेपालमा सुर्तीजन्य पदार्थका लागि राम्रो कानुन भए पनि सम्बन्धित निकाय मौनजस्तै रहेकाले कार्यान्वयन फितलो भएको बताउँछन् ।

यस्तै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि ७७ वटै जिल्लामा योजना बनाएर अगाडि बढ्ने तयारी भइरहेको बताए । ७५३ वटै पालिकाका प्रशासकीय अधिकृतसँग सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि तत्काल छलफल गर्ने उनले सुनाए ।