दैलेख – प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३ औं स्मृति दिवस आज नेपाली कांग्रेस दैलेखले एक कार्यक्रम गरी मनाएको छ । पार्टी कार्यालयमा रहेको बीपीको तस्बिरमा माल्यापण गरी कार्यकम मनाइएको हो। पूर्व पार्टी सभापति, वरिष्ठ नेता रविन्द्रराज श्रेष्ठ, कर्णाली प्रदेश सरकारका सामाजिक विकास समितिका सभापति माननीय पूर्ण बहादुर खत्री, नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटी सदस्य निर्मला खड्का थापा, नेपाली कांग्रेस दैलेखको उपसभापति नवराज शाही महासमिति सदस्य गणेश उपाध्याय, पूर्व पार्टी सहसचिव रेशम विश्वकर्मा लगायतका नेताहरूले बीपीको तस्बिर माथि माल्यापन गरी बीपीलाई सम्झिएका हुन् । युग पुरुष गिरिजाप्रसाद कोइराला प्रतिष्ठानको भवनको प्रागणमा वृक्षारोपण समेत गरी बीपीको स्मृति दिवस मनाइएको सभापति मणिराम रेग्मीले बताए। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको वि.सं.२०३९ साउन ६ गते निधन भएको थियो ।उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ । कोइरालाको जन्म वि.सं.१९७१ भदौ २४ गते भएको हो । वि.सं.२०१५ को संसदीय निर्वाचनपछि वि.सं.२०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’ र ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् ।उहाँका दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् ।वरिष्ठ अधिवक्ता स्व. गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, वि.सं.२०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ ।जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी वि.सं.२०१५ को आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो ।प्रधानमन्त्रीत्वकालमा उहाँले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाउनुभयो ।वि.सं.२०१७ पुस १ गते तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो ।वि.सं.२०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभएको थियो ।भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रर्वाह नगरी वि.सं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उहाँ स्वदेश फर्कनुभएको थियो । उहाँले अपनाएको मेलमिलापको नीति आज पनि देशको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।


अनलाइन नागरिक ६ श्रावण २०८२, मंगलवार १७:०५