काठमाडौँ ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति घोषणा भएसँगै पार्टीभित्र आगामी नेतृत्वबारेको चर्चा तीव्र बन्दै गएको छ। सभापति पदका लागि गगन थापा, डा. शेखर कोइराला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शशाङ्क कोइराला, कृष्णप्रसाद सिटौला लगायतका नेताहरूले आ–आफ्नो आन्तरिक तयारी अघि बढाइरहेका बेला पदाधिकारी तहमा पनि विभिन्न नेताहरूका नामहरू चर्चा हुँदै आएका छन्।
यस्तैमा, नेपाली कांग्रेसको महामन्त्री पदमा युवा नेता केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही) लाई उम्मेदवार बनाउन देशभरका कार्यकर्ताहरूले दबाब चर्काइरहेका छन्। पार्टीका केन्द्रीय सदस्य समेत रहेका स्नेही क्रियाशील सदस्यहरूको अवस्थाबारे बुझ्न देशव्यापी दौडाहामा निस्किरहेका बेला नै जिल्ला–जिल्लाका नेता तथा कार्यकर्ताले उनलाई महामन्त्रीमा उम्मेदवारी दिन आग्रह गरिरहेका थिए।
कांग्रेसभित्र पुस्ता रूपान्तरण को एजेन्डा उठाउँदै “अबको नेपाली कांग्रेसको सभापति गगन थापा हुनुपर्छ” भन्ने सन्देशसहित जिल्लातिर जाने पहिलो नेताका रूपमा पनि उनी चिनिन्छन्। प्रष्ट वक्ता, कुशल संगठक, उत्पीडित वर्गका प्रभावशाली आवाज, र सधैं संगठन विस्तारमा सक्रिय स्नेही कांग्रेसका जुझारु, ऊर्जाशील, सिर्जनशील र क्रियाशील नेतामा पर्छन्। पार्टीका विभिन्न अभियान, गाउँ–गाउँमा पुगेर चलाउने कार्यक्रम तथा जिल्ला दौडाहाका कारण उनी ‘चलायमान नेता’ को छविमा स्थापित छन्।
पार्टीभित्र स्पष्ट वक्ताका रूपमा, कसैको पनि गलत निर्णयविरुद्ध नडराई कठोर प्रश्न राख्न सक्ने सक्षम युवा नेता उनी मानिन्छन्। केही वर्षअघि सांसद रहेका बेला पनि उनले संसदमा निरन्तर जनताका सवालहरू उठाइरहने गरेको स्मरण समर्थकहरू गर्छन्।
सुदूरपश्चिमको बझाङमा जन्मिएका रसाइली सुदूरपश्चिम र कर्णाली दुवै प्रदेशका कांग्रेस नेता–कार्यकर्ताबीच अत्यन्त लोकप्रिय छन्। उत्पीडित जाति–समुदाय र लैङ्गिक समानताका मुद्दामा स्पष्ट धारणा राख्ने, न्याय र समान अवसरको पक्षमा उभिने नेताका रूपमा उनी स्थापित भएको कार्यकर्ताहरूको भनाइ छ। उनका प्रभावशाली भाषणहरू पछिल्लो समय टेलिभिजनका पर्दा र सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन्।
स्थानीय नेता भक्त कठायतका अनुसार, स्नेही बझाङमा प्रत्यक्षतर्फ जित्ने एकमात्र कांग्रेस उम्मेदवारका रूपमा परिचित छन्। दैलेख कांग्रेसका पूर्व सहसचिव रेशम विश्वकर्मा भन्छन्—
“कांग्रेसमा धनमानसिंह परियारपछि दलित समुदायबाट यस स्तरको सक्षम नेता हामीले देखेका थिएनौँ। त्यसैले हामीले उहाँलाई पार्टीको महामन्त्री पदमा उम्मेदवार दिन निरन्तर दबाब दिइरहेका छौँ।”


अनलाइन नागरिक १८ मंसिर २०८२, बिहीबार १९:०९