दैलेख समृद्धिको गुरुयोजनाको बहस सुरु

समृद्ध दैलेखका लागि गुरुयोजनाको बहस सुरु भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा शनिवार आम भेला गरी गुरुयोजनाबारे छलफल चलाइएको हो।दैलेखबाट प्रतिनिधित्व गर्ने वर्तमान र पूर्व मन्त्रीहरू, हालसम्मका संसद्, जिल्लाका क्रियाशील राजनीतिक दल कार्यालय प्रमुख सञ्चारकर्मी सरोकारवालाको उपस्थितिमा छलफल गरिएको हो। जिल्लाको आर्थिक, सामाजिक र पूर्वाधार विकासका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन विकासका योजना तथा कार्यक्रममा पहिचान तथा प्राथमिकताबारे सरोकारवालाबीच छलफल गरिएको छ।  गुरुयोजनामा सुशासन, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार, इतिहास लगायतको विषयमा छलफल चलाइएको छ।पूर्वाधार खानेपानीका बृहत् योजना, उद्योग, सहरी विकासदेखि सडक यातायातसम्मका विषय गुरुयोजनामा प्राथमिकीकरण गरेर राख्नुपर्ने सवाल उठेका छन्।प्रस्तावित गुरुयोजनाको कार्यान्वयन अवधि १५ वर्षसम्मको रहने गरी खाँका तय गरिएको जिल्ला समन्वय सभापति नमराज शाहीले बताए।गुरुयोजना कार्यान्वयन निर्देशन समितिसमेतको परिकल्पना गरिएको छ । समृद्ध दैलेख बनाउने सम्बन्धमा सरोकारवालाबीच राम्रो छलफल भएको यसै अनुरूप सम्पूर्ण राजनीतिक दलहरू नागरिक समाज, जिल्ला निवासी उच्च पदमा रहेका प्रशासक र सम्पूर्ण जिल्लावासी एक भएर लाग्ने हो भने विकास र सुशासनको युग दैलेखमा सुरु हुने विश्वास आफूले लगेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । सरोकारवाला राय आएपछि मात्रै पूर्ण रुमा दैलेखको समृद्धिको गुरुयोजना तयार पारिनेछ।