कर्णाली प्रदेशमा तिहारपछि मात्र मन्त्रिपरिषद् विस्तार गरिने

कर्णाली प्रदेशमा तिहारपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने भएको छ।

मंगलबार नै कांग्रेसले सरकारको नेतृत्व लिए पनि बीचमा तिहारको बिदा पर्ने भएकाले तिहारपछि मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो।

मन्त्रिपरिषद् विस्तारका लागि बीचमा सत्ता साझेदारहरूबीच छलफल गर्नुपर्ने भएकाले तिहारअघि हुन नसक्ने नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिमबहादुर शाहीले बताए।

शाहीका अनुसार अहिले कुन पार्टीले कति मन्त्रालय पाउने भन्ने टुंगो लागिसकेको छैन।

कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र नेपाली कांग्रेस साझेदार दल हुन्।

‘दलहरूको साझेदारीमा सरकार हुने भएकाले कसले कति पाउने भन्ने पनि हुन्छ, दलहरूलाई नाम छनोट गर्न पनि समय लाग्छ,’ प्रमुख सचेतक शाहीले भने, ‘यो बीचमा छलफल होला, अरू दुई दलले नाम सिफारिस गर्नुभयो भने तिहारलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाइहाल्छ।’

कर्णाली प्रदेशमा आठ सदस्यीय मन्त्रिपरिषद् हुनेछ।

कर्णाली प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी) ले भने तीन वटा मन्त्रालयको दाबी गरेको छ। यसअघिका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन ‘फ्लोर क्रस’ गरी मन्त्री बनेका समाजवादीका तीन मन्त्रीको पद १५ गतेदेखि स्वतः सकिएको छ।

उनीहरू सांसद नरहेकाले ६ महिनामा उनीहरूको पदावधि सकिएको हो। यसअघि आफ्ना मन्त्रीहरू भएको भौतिक पूर्वाधार, उद्योग र कृषि मन्त्रालयमा नेकपा (एस)को दाबी छ।

कर्णाली प्रदेश सभामा नेकपामा तीन जना मात्र सांसद छन्।

कांग्रेसबाट प्रमुख सचेतक शाही पनि मन्त्रीका आकांक्षी छन्। कर्णाली प्रदेश सभाका सदस्यहरूमध्ये ज्येष्ठ सदस्य शाहीले दलले आफूलाई मन्त्री बनाउने अपेक्षा गरेका छन्।

‘पार्टीले मेरो लामो समयसम्मको योग्दानको कदर गर्नेछ भन्ने विश्वास छ, पार्टीले विश्वास गरी मन्त्री बनायो भने म तयार पनि छु।’

सत्ता साझेदार दलमध्ये कांग्रेसका ६, माओवादी केन्द्रका १२, नेकपा (एस) का ३ जना सांसद छन्।

कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा यसअघि दुई जना मन्त्री बनिसकेका छन् भने माओवादीबाट मुख्यमन्त्रीबाहेक ४ जना बनिसकेका छन्।

नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाही मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाख ३ गते विश्वासको मत लिनुअघि भएको सहमति अनुसार कांग्रेसका जीवनबहादुर शाही कर्णाली प्रदेशको दोस्रो मुख्यमन्त्री बनेका हुन्।

महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।