कांग्रेसको कोइराला समूहले भन्यो– ‘गठबन्धन गर्ने निर्णय केन्द्रबाट गर्न मिल्दैन

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा स्थानीय तहको चुनावमा सत्ताघटक दलहरूबीच चुनावी गठबन्धन गर्ने प्रस्ताव लैजाने तयारीमा छन् । उनले सत्ताघटक दलहरूलाई केन्द्रीय समितिबाट गठबन्धन गर्नेबारे सैद्धान्तिक निर्णय गर्ने वचन समेत दिइसकेका छन् । तर, नेता शेखर कोइराला पक्षले भने चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीको केन्द्रीय कार्यसमितिले निर्णय गर्न नमिल्ने दाबी गरेका छन् ।

 

नेता कोइरालाले बुधबार काठमाडौंमा आफूपक्षीय नेताहरूसँग छलफल गरेर पार्टीको विधान बमोजिम नै चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय केन्द्रीय कार्यसमितिले निर्णय गर्न नमिल्ने बताएका हुन् ।

बैठकमा नेता कोइरालाले चुनावी गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा प्रष्ट धारणा राख्न निर्देशन गरेका थिए । बैठकमा सहभागी नेताहरूले फरक–फरक धारणा समेत राखे । तर, कोइरालाले पार्टीको विधानअनुसारै स्थानीय चुनावमा टिकट वितरण गर्ने र गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय केन्द्रको क्षेत्राधिकारभित्र नपर्ने निर्देशन गरेका हुन् ।

बैठकले केन्द्रीय कार्यसमितिले चुनावी गठबन्धनबारे निर्णय गर्न नमिल्ने निष्कर्ष निकालेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए । ‘शुक्रबार केन्द्रीय समिति बैठक बस्दैछ, त्यहाँ कसरी प्रस्तुत हुने ? भनेरै यो छलफल भएको हो,’ केन्द्रीय सदस्य शिवाकोटीले इकान्तिपुरसँग भने, ‘गठबन्धनको सन्दर्भमा अहिले केन्द्रले कुनै दलसँग पनि गठबन्धन गर्ने भनेर निर्णय गर्न मिल्दैन । पार्टीको विधानले नै तल्लो तहबाट टिकट वितरण गर्ने व्यवस्था गरेको छ । त्यसअनुसार माथिबाटै गठबन्धन गर्ने वा फलानोलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्न मिल्दैन भन्ने बैठकको निष्कर्ष छ ।’

बैठकमा नेताहरूले विधानले गरेको व्यवस्था अक्षरश: पालना गर्नुपर्ने, र त्यसकालागि स्थानीय चुनावमा स्थानीय कार्यसमितिहरूलाई अधिकारसम्पन्न बनाइनुपर्ने माग गरेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार नेताहरूले संसदीय समिति गठनमै भागबण्डा नगरे आगामी निर्वाचनमा देउवाले आफ्नो पक्षमा टिकट वितरणमा समेत विभेद गर्ने आशंका गरेका व्यक्त गरेका छन् । ‘सभापतिले केन्द्रीय सदस्य मनोनयनमा विभेद गर्नुभएको छ, भ्रातृ संस्थामा पनि विभेद छ,’ बैठकमा कुरा उठेको भन्दै ती नेताले इकान्तिपुरसँग भने, ‘यस्तै गदै जानुभयो भने आगामी निर्वाचनमा टिकट वितरण पारदर्शी र कार्यकर्ताको न्याय हुने गरी हुन्छ भनेर कसरी विश्वास गर्ने ?’

अर्का एक नेताले सभापति देउवाले सबैभन्दा पहिले कांग्रेसभित्रै तालमेलका लागि तयार हुनुपर्ने बताए । ‘उहाँ पार्टीभित्रै तालमेल गर्न तयार हुनुहुन्नँ, अनि अर्को पार्टीसँग गठबन्धन गरेर कसरी चुनाव जितिन्छ ?’ ती नेताले प्रश्न गर्दै भने, ‘पहिले पार्टीभित्रै तालमेल र सहकार्यको बातावरण बनाउनुस्, सबै नेता कार्यकर्तालाई समान व्यवहार र न्यायपूर्ण वातावरण बनाउनुस् भन्ने हाम्रो आग्रह हो । नभए हामीले आफ्नो बाटो रोज्नुपर्ने हुन्छ ।’

ती नेताले सभापतिले पेल्ने नीति लिएर आफूहरू त्यहीअनुसार अघि बढ्ने दाबी गरे । ‘सभापतिले महाधिवेशनमा कसैले आफूलाई मत हालेन भनेर टिकट नदिने, अवसर नदिने, विभेद गर्ने, पेल्ने गर्नुभयो भने हामीहरू पनि त्यहीअनुसार अघि बढ्नुपर्ने हुन्छ,’ ती नेताले भने, ‘हामीले स्थानीय तहको चुनावको तयारीका लागि त्यहीअनुसारको रणनीति अपनाउनुपर्ने अवस्था आएको छ ।’

नेता कोइरालाले बिहीबारको बैठकमा सातै प्रदेशका आफ्नो समूहका प्रदेश सभापतिका उम्मेदवारहरूलाई समेत बोलाएका छन् ।