पूर्णबहादुर खड्का : ६ महिने मेयरदेखि महामन्त्रीको यात्रा, अबको गन्तव्य उपसभापति

सुर्खेत । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका निकट सहयोगीको नाम लिँदा पूर्णबहादुर खड्का सधैँ अग्रपंतिमा आउँछन् । कर्णाली प्रदेशबाटै पहिलोपटक कांग्रेस पदाधिकारीमा पुग्न सफल नेता हुन् उनी ।

कर्णाली कांग्रेसकै एक बलिया खम्बा मानिने नेता खड्का हाल पार्टीको महामन्त्री छन् । उनी आसन्न महाधिवेशनमा उपसभापति पदका आकांक्षी हुन् । देउवा समूहले आफ्नो प्यानललाई अन्तिम रूप दिइनसकेको भए पनि उपसभापतिमा उनको बलियो दाबेदारी छ ।

खड्का विगतमा पाँचपटक निर्वाचित सांसद र पाँचौ पटक मन्त्री भइसकेका छन् । उनी संसदको राज्य व्यवस्था समितिको सभापतिसमेत बनेका थिए ।

२०३१ सालबाट राजनीतिक यात्रा शुरु गरेका खड्का २०३४ सालमा सुर्खेत कांग्रेसको सभापति भएका थिए । त्यतिबेला उनी जम्मा २४ वर्षका थिए । पञ्चायतकालको प्रतिबन्धित अवस्थामा उनी निरन्तर राजनीतिमा सक्रिय रहे ।

२०३६ सालमा बहुदल र निर्दलबीचको चुनावमा कांग्रेसले भाग लिने निर्णय गर्दा खड्काले वीरेन्द्रनगरमा मेयरको रुपमा चुनाव जितेका थिए, तर उनलाई पञ्चायतको समर्थन गर्न राजाले दबाब दिए । राजाले दिएको दबाब अस्वीकार गर्दा जिल्ला अदालत सुर्खेतले मेयर भएको ६ महिनामै उनलाई अपदस्थ गरिदिएको थियो ।

विभिन्न समयमा गरेर पाँच महिनाभन्दा बढी जेलजीवन बिताएका खड्का सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट पाँचपटक सांसदमा विजयी बने भने एकपटक पराजित भए ।

२०४८, २०५१, २०५६ मा उनी प्रत्यक्ष चुनाव जितेर सांसद भएका थिए । २०६४ सालमा उनी समनुपातिक सांसद बने । २०७० सालमा भएको चुनावमा जितेका खड्का पछिल्लो २०७४ सालको संसदीय चुनावमा भने पराजित भएका थिए ।

खड्का दुईपटक गृहमन्त्री भइसकेका छन् । यस्तै, उनीसँग युवा तथा खेलकुद मन्त्री (दुईपटक), सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्रीका रूपमा जिम्मेवारी निभाएको अनुभव छ । सुर्खेत १ का जनतामा उनले आफूलाई ‘विकासप्रेमी नेता’ का रूपमा चिनाएका छन् ।

खड्काले १० औं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा चुनाव लडेका थिए । त्यो समयमा मध्यपश्चिम विकास क्षेत्रबाट एक जना मात्रै केन्द्रीय सदस्य चुन्ने व्यवस्था थियो । सो महाधिवेशनमा सुशील कोइराला विजयी हुँदा खड्का पराजित भए । त्यसपछि ११ औं महाधिवेशनमा कांग्रेस फुटेर बनेको प्रजातान्त्रिक कांग्रेसको केन्द्रीय सदस्यमा उनी निर्वाचित भए । १२ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य जितेर उनी सहमहामन्त्रीमा मनोनित भएका थिए । पछिल्लो १३ औं महाधिवेशनमा महामन्त्री बनेका हुन् ।

तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्ट भन्छन्, ‘चुनाव प्रचारको समयमा पनि उहाँ गाउँमा जनताकै घरमा बस्नुहुन्छ । कुनै अभियानको समयमा होस या कार्यक्रममा, कहिल्यै होटलमा बसेको मलाई थाहा छैन ।’

देउवालाई संकटको बेलामा जहिल्यै काँध थाप्ने नेता हुन् खड्का । अब महाधिवेशनमा खड्कालाई कांग्रेस प्रतिनिधिले काँध थाप्छन् या थाप्दैनन् हेर्न बाँकी छ ।