प्रहरीले गर्यो डेढ करोड बढी राजश्व संकलन

कर्णाली प्रदेशमा ट्राफिकले चालु आर्थिक वर्षको पहिलो छ महिनामा डेढ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको जनाएको छ।
ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट एक करोड ७१ लाख ९७ हजार राजस्व सङ्कलन भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
कर्णाली प्रदेशभर ट्राफिक नियम उल्लङ्घन गर्ने २० हजार ५ सय १ सवारी साधनलाई कारबाही गरिएको छ।भन्सार छली गरी ल्याएको एक करोड ३४ हजार ५६४ बराबरको अवैध लत्ताकपडा, सुर्तीजन्य पदार्थ र खाद्यान्न बरामद गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेन्द्र सिंह खड्काले बताउनुभयो।

भन्सार छलीमा संलग्न रहेको आरोपमा ११ जनालाई पक्राउ गरी अनुसन्धानका लागि राजस्व कार्यालय बाँकेमा पठाइएको प्रवक्ता खड्काले बताउनुभयो।उहाँले प्रदेशमा २०३ सवारी दुर्घटना हुँदा ११८ जनाको ज्यान गएको छ भने ५१५ घाइते भएका छन।
त्यस्तै चालु आर्थिक वर्षको पहिलो छ महिनामा २४ नाल अवैध हातहतियारसहित १५ र लागूऔषध दुव्र्यसनी तथा अवैध कारोबार गर्ने ९० जनालाई पक्राउ गरिएको छ।

उनीहरुबाट ५९ ग्राम ३३३ मिलिग्राम ब्राउन सुगर, एक किलो २१३ ग्राम चरेस बरामद गरिएको छ।
नदीजन्य तथा खानीजन्य प्राकृतिक स्रोतको गैरकानुनी उत्खनन तथा ओसारपसार गर्ने ५८ सवारी साधन र ५१ जनालाई नियन्त्रणमा लिई उनीहरुबाट कारबाहीस्वरुप दुई लाख ४० हजार ५७० राजस्व सङ्कलन गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
यस्तै चालु आर्थिक वर्षको पहिलो छ महिनामा कर्णाली प्रदेशमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १४१ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका १४१ प्रतिवादीबाट ७३ वर्ष ९ महिना २८ दिन कैद भुक्तान गर्नुपर्ने प्रहरी वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिनुभयो।उनीहरुबाट १६ लाख १० हजार ८९० जरिवाना सङ्कलन गरिएको पनि उहाँले बताउनुभयो ।