एक वर्षमा सडक जोडिँदै हुम्ला

अबको एक वर्षभित्र कर्णालीको हिमाली जिल्ला हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने दाबी सरकारले गरेपनि काम गति लिन भने सकेको छैन । हुम्लालाई सडक सञ्जालमा जोड्न सरकारले २०७१ देखि कर्णाली करिडोर निर्माण सुरु गरेपनि काममा ढिलार्इ हुँदा हुम्ला सदरमुकाम सिमकोटमा अहिलेसम्म सडक पुगेको छैन ।

२०७० सालयताका सबै जसो सरकारले एक वर्षभित्रै हुम्लामा गाडी पुर्याुउने घोषणा गरेपनि काम हुन सकेको छैन। अब १० किलोमिटर सडक बने हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख इन्जिनियर बिसुनदास लामाले बताउनु भएको छ। १० किमिमध्ये ७ किमिमा चट्टान फुटाउन सरकारले एक महिनाअघि नेपाली सेनालाई जिम्मा दिने निर्णय गरिसकेको छ ।

बाँकी ३ किलोमिटरमा भने निर्माण व्यवसायीमार्फत काम हुने लामाको भनार्इ छ । कर्णाली करिडोरअन्तर्गतको कालीकोटको खुलालुदेखि सिमकोटसम्मको १ सय ७३ किमिमध्ये १ सय ६३ किमि ट्र्याक खुलिसकेको छ । खुलालुदेखि सरिसल्लासम्मको १ सय २३ किमिको निर्माण नेपाली सेनाले गरेको हो भने बाँकी ४० किमिमा सडक डिभिजन कार्यालयमार्फत ट्र्याक खोलिएको हो ।

अहिलेसम्म कर्णाली करिडोर निर्माणमा १ अर्ब ५ करोड ७७ लाख रुपैयाँ खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ । यो करिडोरमा भारी हिमपातका कारण मंसिरदेखि चैतसम्म काम गर्न समस्या छ भने ठाउँ ठाउँमा भेटिने कडा चट्टानका कारण पनि सडक निर्माणमा समस्या भएको निमार्ण पक्षको भनार्इ छ । सरकारले भारतको रुपैडियादेखि चीनको हिल्सालाई सडक सञ्जालले जोड्न कर्णाली करिडोरको अवधारणा अघि सारेको हो ।