स्थानीय निर्वाचन : जेठ ४ मा चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ ।

मंगलबार अपरान्ह निर्वाचन आयोग र प्रधानमन्त्रीबीच भएको छलफलमा आगामी जेठ ४ मा एकै चरणमा निर्वाचन गर्ने सहमति जुटेको हो ।



निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो ।

सोही विषयमा प्रधानमन्त्री देउवा र आयोगका पदाधिकारीबीच मंगलबार छलफल भएको हो।

बैठकमा आयोगले जेठ ४ मा चुनावको मिति प्रस्ताव गरेको थियो । छलफलमा आयोगले प्रस्ताव गरेको मितिमा प्रधानमन्त्रीले सहमति जनाइसकेपछि त्यसको दुई दिनभित्र निर्वाचन आयोगले गृह मन्त्रालयमा चुनावको मितिसम्बन्धी प्रस्ताव पेस गर्नेछ ।

आयोगको सो प्रस्ताव गृह मन्त्रालयले क्याबिनेटमा पेस गरेपछि चुनावको मिति औपचारिकरुपमा तय हुनेछ ।

सत्तारुढ गठबन्धनबीच जेठमै स्थानीय तहको निर्वाचन गर्ने र त्यसका लागि संविधानसँग बाझिएका ऐन कानुन संशोधन गर्ने निर्णय गरे पनि कहिले निर्वाचन गर्ने भन्ने टुंगो लागिसकेको छैन ।

तर, कांग्रेस सभापतिसमेत रहेका देउवाले पार्टीका नेताहरूसँगको भेटमा ४ जेठमै निर्वाचन हुने जानकारी दिइसकेका छन् ।