हल्ला धेरै, काम सुस्त

हुम्ला — हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने गरी बजेट विनियोजन गरेको घोषणा गर्न पाँच वर्षयताका सबै सरकारले छुटाएका छैनन् । बजेट पनि विनियोजन नभएको होइन । हुम्लालाई सडक सञ्जालमा जोड्न सरकारले २०७१ देखि कर्णाली करिडोर निर्माण सुरु गरेको हो । तर काम सुस्त हुँदा हुम्ला सदरमुकाम सिमकोटमा अहिलेसम्म सडक पुगेको छैन ।

सडक सुविधा नहुँदा हुम्लामा हवाई यातायातको विकल्प छैन । अहिलेको सरकारले पनि एक वर्षभित्र हुम्लामा सडक पुर्‍याउने घोषणा गरेको छ । तर कठिन भूगोल, अपर्याप्त बजेट अभाव, समयमै काम नहुनुलगायत कारणले ढिलाइ भइरहेको छ । अब १० किलोमिटर सडक बन्दा हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिन्छ ।

सिमकोटदेखि सरिसल्ला खण्डको लालीखोला भीरदेखि स्यालतडीसम्मको क्षेत्रमा सडकको ट्र्याक खोल्नै बाँकी छ । १० किमिमध्ये ७ किमिमा चट्टान फुटाउन सरकारले एक महिनाअघि नेपाली सेनालाई जिम्मा दिने निर्णय गरिसकेको छ । बाँकी ३ किलोमिटरमा भने निर्माण व्यवसायीमार्फत काम हुनेछ । कर्णाली करिडोरअन्तर्गतको कालीकोटको खुलालुदेखि सिमकोटसम्मको १ सय ७३ किमिमध्ये १ सय ६३ किमि ट्र्याक खुलिसकेको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख इन्जिनियर बिसुनदास लामाले बताए ।
खुलालुदेखि सरिसल्लासम्मको १ सय २३ किमिको निर्माण नेपाली सेनाले गरेको हो । बाँकी ४० किमिमा सडक डिभिजन कार्यालयमार्फत ट्र्याक खोलिएको थियो । अहिलेसम्म कर्णाली करिडोर निर्माणमा १ अर्ब ५ करोड ७७ लाख रुपैयाँ खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

यो करिडोरमा भारी हिमपातका कारण मंसिरदेखि चैतसम्म काम गर्न समस्या छ । ठाउँ ठाउँमा भेटिने कडा चट्टानका कारण पनि सडक निर्माणमा समस्या भएको प्रमुख इन्जिनियर लामाले बताए । ‘मेसिनले चट्टान फुटाउन सकिँदैन, विस्फोटक पदार्थ ल्याउन पनि प्रक्रिया झन्झटिलो हुँदा काम बर्सेनि प्रभावित भइरहेको छ,’ उनले भने । बाँकी खण्डमा निर्माणको काम अघि बढाउन सेना र आयोजना कार्यालयले संयुक्त अनुगमन गरिरहेको उनले जानकारी दिए ।

कोरोना महामारीका कारण चीनले २०७६ मंसिरदेखि हिल्सा नाका बन्द गरेपछि निर्माण सामग्री ढुवानीमा पनि समस्या भएको सडक आयोजना कार्यालयले जनाएको छ । चीनबाट निर्माण सामग्री नआउँदा करिडोरअन्तर्गतका ४ वटा पुल निर्माणको काम ठप्प छ । चीनतर्फको हिल्साबाट सिमकोटसम्म ९५ किमि सडकखण्डमा ट्र्याक खोलिसकिएको छ । तर च्याछारा भीरको ग्रेड मिलाउन अझै बाँकी रहेको लामाले बताए ।

सरकारले भारतको रुपैडियादेखि चीनको हिल्सालाई सडक सञ्जालले जोड्न कर्णाली करिडोरको अवधारणा अघि सारेको हो । यसको निर्माण पूरा भए कर्णालीको विकासले फड्को मार्ने नागरिक अगुवा पदम लामाले बताए । ‘कर्णालीको समग्र विकासका लागि पनि यो करिडोरको आवश्यकता छ,’ उनले भने, ‘तर ७० सालयताका सबै सरकारले एक वर्षभित्रै हुम्लामा गाडी पुर्‍याउने घोषणा गरे पनि पुग्दो बजेट कहिल्यै आएन ।’