सहायता रकम, भोटसंग चेलखेल

संघीय सरकार अन्तर्गत अर्थ मन्त्रालयको कार्यक्रम नगर तथा गाउँपालिकामा आएको कोभिड प्रभावितबाट अति विपन्न परिवारलाई आर्थिक सहायता कार्यक्रमलाई दैलेखको नारायण नगरपालिकामा मत प्रभावित पर्ने अस्त्रका रुपमा प्रयोग गरेको पाईएको छ। अति विपन्न परिवारका नाममा आएको रकम नगर प्रमुखसहित वडाअध्यक्षहरुले भोटसंग साट्ने गरेको पाईएको हो।

चुनावमा सहयोग गनुपर्ने भन्दै लिष्ट (विवरण) मा नाम पारेर १० हजार दिने प्रलोभनमा स्थानीयहरुलाई पारेको आरोप लागेको छ। चुनाव नजिकिदै गर्दा भोटसंग साट्ने गरि रकम प्रयोग गर्न खोजिएको श्रोतले जनाएको छ। नगरका ५ सय ४३ परिवारलाई १० हजारका दरले वितरण गर्नुपर्ने भएपनि चुनावको मुखमा सहायता रकमसंगै दिने त्यसको बदलामा भोट दिनुपर्ने कोभिड प्रभावितलाई उर्दी भएको पीडितहरुले नाम नछाप्ने शर्तमा बताए। चैत्रको पहिलो सातामै बाँड्नुपर्ने रकम वडाबाटै नगरसम्म ढिलाई हुनुले पनि आंशका उब्जीएको छ। अधिकांश नगर प्रमुखसहित जनप्रतिनिधि एमालेबाट प्रतिनिधित्व गर्छन्।

कोभिडका कारण रोजगारी गुमाएका र परिवारमा जिविकोपार्जन चलाउन सकस भएकाहरुलाई नेपाल सरकारले आर्थिक सहायता होस् भनेर प्रति परिवार १० हजार रुपैयाँ दिने निर्णय गरि नगरपालिकामा पैसा पठाएको थियो। लामो समय उक्त रकम वितरण नगरेर चुनाव नजिक कोभिड् प्रभावितसगै अति विपन्नमा नपरेकाहरुलाई पनि भोट दिनुपर्ने शर्तमा वितरण (लिष्ट)मा राखिएको स्थानीयहरु बताउँछन्।

‘सरकारले दिएको रकम भोटसंग मोलमोलाई भएको छ।’ एक स्थानीयले नाम नछाप्ने शर्तमा भने, बास्तविक परिवारको साटो अन्य परिवारलाई समेत दिने गरि चलखेल भएको छ।’ नारायणका २, ८ र  ९ वडाबाट सिफारिस नआएको र अन्य वडाबाट आएर कम्प्यूटरमा विवरण चढाउने कार्य भईरहेको नगरपालिकाले जनाएको छ। अख्तियारी पहिले आएपनि वडाबाट विवतरण नआएका कारण आर्थिक सहायता रकम दिन ढिलाई भएको सामाजिक विकास शाखा प्रमुख खमबहादुर थापाले बताए।

कोभिडबाट प्रभावित परिवारमध्ये पनि अति विपन्न जसको कोभिडकाे बेला रोजगारी गुमाएकाले जिविकोपार्जनमा गाह्रो भएकाहरु छानेर वडाको सिफारिसमा सामाजिक विकास शाखामार्फत नगर कार्यपालिका मार्फत स्वीकृत गरि नगद वा खातामा रकम जम्मा गर्नुपर्ने प्रावधान रहेको छ। फारम भरिसकेको र केही वडामा बाँकी रहेकाले छिट्टै कार्यपालिका बैंठकबाट निर्णय गरेर कोभिड प्रभावित अति विपन्न परिवारलाई रकम दिईने स्वास्थ्य शाखा प्रमुख नगेन्द्र बहादुर हमालले बताए।