राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत चार हजार १५७ विद्यालय छनोट

सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमादेशभरका चार हजार १५७ विद्यालय छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेकाे बैठकले प्राप्त आवेदनका आधारमा सार्वजनिक विद्यालय छनोट गरेको हो । छानिएकामध्ये चारकोठे भवन ९७६, दुईकोठे भवन ९६६, आइसिटी ल्याब व्यवस्थापन दुई हजार १०६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ निर्माण गरिने भएको छ ।



मन्त्री पौडेलका अनुसार चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु ३६ लाख, दुईकोठे भवन निर्माणका लागि रु १८ लाख, आइसिटी ल्याब व्यवस्थापनका लागि रु छ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई रु ७० करोड ५९ लाख छ हजार, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुट विद्यालयका लागि अनुदान १४ विद्यालयका लागि रु ३३ करोड ६० लाख र प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरनोन्नितका लागि अनुदान ८८ विद्यालयलाई रु ८८ करोड रकम छुट्याइएको छ ।



राष्ट्रपति शैक्षिक सुधारका लागि रु सात अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ । विद्यालय छनोट गरी बाँकी रु एक अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने शिक्षामन्त्री पौडेलले बताए ।



देशका ७३७ स्थानीय तहबाट १३ हजार ४७३ विद्यालयले प्रस्ताव पठाएका थिए । जसमा सात हजार ९८६ विद्यालयले भवन निर्माण, चार हजार २३५ विद्यालयले आइसिटी ल्याब, ११७ विद्यालय नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १८८ र घेराबार खेलमैदानमा ९४७ विद्यालयले आवेदन दिएका थिए ।