काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको चुनावको मिति यथाशीघ्र तोक्न सरकारसँग आग्रह गरेको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै आउँदो जेठ ५ गतेदेखि स्थानीय तहका पदाधिकारीको कार्याकाल सकिने भएकाले चाँडै नयाँ मिति तोक्न आग्रह गरेको हो ।
स्थानीय तहको चुनाव २०७४ सालको वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्राे चरण र असोज २ गते तेस्राे चरणमा सम्पन्न भएकोमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल आउँदाे २०७९ जेठ ५ मा सकिने आयोगले जनाएको छ ।
स्थानीय तहको चुनाव व्यवस्थापनका लागि कानुनतः आयोगलाई सामान्यतया एक सय २० दिन आवश्यक पर्ने भएकाले स्थानीय तहको चुनाव लक्षित गरी मतदाता नामावली संकलन, मतदानस्थलको पुनरावलोकन र निर्धारण तथा चुनाव सम्पन्न गर्न आवश्यक अन्य पूर्वतयारीका काम निरन्तर गरिरहेको हुँदा आयोगले प्रस्ताव गरेअनुसार मिति तोकिएमा २०७९ वैशाख मसान्तभित्रै स्थानीय तहको चुनाव सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ ।
‘स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा आउँदाे स्थानीय तहको चुनावकाे मिति चाँडै तोक्न नेपाल सरकार समक्ष निर्वाचन आयोग आग्रह गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
अनलाइन नागरिक १२ माघ २०७८, बुधबार ०७:०७