काठमाडौं । निर्वाचन आयोगले विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रको पक्षले गरेको विधान संशोधनलाई मान्यता दिएपछि संयोजक मिलन पाण्डे पक्षले असन्तुष्टि जनाएको छ ।
पाण्डे पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा पुनरावेदन दिने तयारी गरेको छ ।
‘पार्टीको विधान विपरीत एकपक्षको निर्णयलाई अभिलेख नगर्न भन्दै ८ असोजमै आयोगमा उजुरी दिएका थियौं’ संयोजक पाण्डेले अनलाइनखबरसँग भने, ‘विधानको बुँदालाई उल्लेख गर्दै उजुरी दिँदा पनि आयोगबाट कसरी त्यस्तो निर्णय भयो, रहस्यमय छ ।’
जुम बैठकको ‘स्क्रिनसट’लाई आयोगले आधिकारिकता दिनु पनि अनौठो रहेको पाण्डेले बताए । ‘आयोगले पुनरावेदनको निवेदनबाट निर्णय नसच्याए, अदालतसम्म जान्छौं’ उनले भने ।
आयोगले बुधबार मिश्र पक्षले गरेको विधान संशोधनलाई मान्यता दिएको थियो । मिश्र नेतृत्वमा बसेको केन्द्रीय समिति बैठकले संयोजक मिलन पाण्डेको अधिकार कटौती गर्ने र संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह गर्ने एजेण्डालाई पारित गरेको थियो ।
मिश्र पक्षले बोलाएको बैठकमा ९१ जना सहभागी भएको जनाइएको थियो । पाण्डे पक्षको बैठकले चाहिँ मिश्रले ल्याएको दस्तावेजलाई खारेज गर्ने र ‘वैकल्पिक राजनीतिको मूल बाटो’ लाई स्वीकृत गर्ने निर्णय गरेको थियो ।
पार्टीभित्र संयोजक पाण्डेको समूह अल्पमतमा थियो ।
अनलाइन नागरिक १८ कार्तिक २०७८, बिहीबार ०८:४०