राजमार्गले पहाड छिचोल्दै

दैलेख-दैलेखदेखि रुकुमपूर्वसम्म यतिखेर पुष्पलाल (मध्यपहाडी) राजमार्गको काम धमाधम भइरहेको छ। पहाड छिचोल्दै बनाउन लागिएको राजमार्गको काम दु्रत गतिमा बढिरहेको हो। जसले गर्दा पहाडको विकासको ढोका खोलेको छ।

राजमार्गले पहाडी जिल्लाबीचको सबन्ध अझ मजबुत बनाएको छ। योजना कार्यालयअन्तर्गत पश्चिम खण्डमा ४ सय ४० किलोमिटरमा यतिखेर कालोपत्रे, ग्रावेल र सडक फराकिलो पार्ने काम भइरहेको छ। पहाडका अनकन्टार भिर, बस्ती हुँदै विकासको ढोका खोलेर मध्यपहाडी राजमार्ग विकासको सूत्रधार भएको दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले बताए।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय दैलेखले पश्चिम खण्डमा गरेको काममध्ये सबैभन्दा बढी प्रगति अछाममा भएको छ। अछाममा पर्ने १ सय ७ किलोमिटर सडक पुरै कालोपत्रे गरिएको प्रगति गत आवमा देखिएको छ। अन्य जिल्लामा पनि काम धमाधम भइरहेकाले केही वर्षमा पूर्ण प्रगति देखिने योजना कार्यालयले जनाएको हो। केही जिल्लामा जग्गा विवाद र भौगोलिक रूपमा कठिन भिर फोडेर ट्र्याक खोल्नुपर्ने भएकाले विगतका वर्षमा प्रगति कम देखिएको थियो। अब विवाद प्रायः सकिएकाले ठेक्का पनि लगाइसकेको हुँदा काम फास्ट हुने योजना कार्यालयले जनाएको छ।

रुकुमपूर्वमा ५५ किलोमिटर सडकमा आव २०७६/७७ मा २४.२९ किलोमिटर कालोपत्रे भइसकेको छ भने आव २०७७/७८ मा १५.४९ किलोमिटर कालोपत्रे सम्पन्न भयो। अब रुकुमपूर्वमा १५.२२ किलोमिटर कालोपत्रे हुन बाँकी रहेको छ। त्यसका लागि ठेक्का प्रक्रिया अघि बढिसकेकाले काम चालु आवभित्र सकिने जनाइएको छ। त्यस्तै रुकुम पश्चिममा ७० किलोमिटरमा आव २०७६/७७ मा २३.८३ किलोमिटर कालोपत्रे सकिएको र आर्थिक २०७७/७८ वर्षमा २३.३२ किलोमिटर कालोपत्रे भएको थियो। रुकुमपश्चिममा ४८.३६ किलोमिटर कालोपत्रे भइसकेको छ। यो आवमा २१.६४ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखिएको छ।

जाजरकोटमा ८३ किलोमिटर सडकमा आव २०७७/७८ मा १०.१० किलोमिटर कालोपत्रे भएको छ। अब जाजरकोटमा ७२.९० किलोमिटर कालोपत्रे हुन बाँकी रहेको छ। यो आवमा यहाँ कालोपत्रेका लागि ठेक्का लगाइसकिएको जनाइएको छ। दैलेख १ सय २५ किलोमिटरमा आव २०७६/७७ मा १२.७९ किलोमिटर कालोपत्रे भयो। आव २०७७/७८ मा १२.९१ किलोमिटर गरी जम्मा २५.७० किलोमिटर कालोपत्रे भएको हो। अब दैलेखमा ९९.३० किलोमिटर कालोपत्रे हुन बाँकी छ। जसका लागि गत असारमा नयाँ ठेक्का लगाइएकाले काम छिटो हुने जनाइएको छ।

त्यस्तै रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट र दैलेखमा २ सय २२.७ किलोमिटर ग्रावेल भइसकेको छ। यो आवमा ८०.२ किलोमिटर ग्रावेल गर्ने तयारी भइरहेको छ। आगामी वर्षमा ६२.२ किलोमिटर ग्रावेल गर्ने लक्ष्य लिइएको योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर मनीष सिंहले बताए। त्यस्तै चार जिल्लामा ८३.३ किलोमिटर कालोपत्रे भएको र यो आवमा २ सय ११ किलोमिटर कालोपत्रे हुने र आगामी वर्ष १ सय १४ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेको छ। गत असारमा ठेक्का लगाएकाले दैलेख र जाजरकोटमा सबैभन्दा कम प्रगति देखिएको योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सिंहले बताए। राजमार्गमा पर्ने पक्की पुलमा थल खोला, रुम खोला, कुम्री खोला, पाउडे खोला र भेरी नदीको पुल यसै आवमा सकिने गरी काम भइरहेको छ।