१३ वर्षपछि राजेश हमालले फेरे गाडी

हलिउड र बलिउडका सेलिब्रेटीहरु संसारकै महंगो मानिने गाडीमा हुँइकिने गरेका छन् । उनीहरु एउटा गाडी त्यति लामो समय प्रयोग पनि गर्दैनन् । बजारमा आउने विभिन्न कम्पनीका नयाँ-नयाँ मोडलका गाडीहरु उनीहरुले किन्ने गरेको पाइन्छ । नेपाली फिल्मका कलाकारहरु पनि गाडीका सौखिन छन् । ३५ लाखदेखि ८५ लाखसम्मको गाडीमा हुँइकिने कलाकारहरु यहाँ धेरै छन् ।

तर, नायक राजेश हमालले भने विगत १३ वर्षदेखि एउटै गाडी प्रयोग गर्दै आएका थिए । जीप गाडी मनपर्ने उनले १३ वर्ष अगाडि सन् २००० मा कियाले बजारमा ल्याएको स्पोर्टेज गाडी खरिद गरेका थिए । फिल्मको छायांकनदेखि नेपालका विभिन्न ठाउँमा हुने कार्यक्रममा उनी यही गाडी चढेर जाने गरेका थिए । कतिपयले उनलाई नयाँ गाडी खरिद गर्न लोभ गरेको समेत भन्ने गरेका थिए ।

अब भने उनले पुरानो गाडीलाई विदा गरेर घरमा नयाँ गाडी भित्राएका छन् । उनले जीप कम्पास गाडी खरिद गरेका हुन् । हमाल र उनकी श्रीमती मधु भट्टराईले बिहीबार नक्सालस्थित जीप शोरुमबाट जीप कम्पासको डेलिभरी लिए । ‘मैले युवा अवस्थादेखि नै जीपको बारेमा निकै सुन्दै आएको थिएँ । म जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट एकदमै प्रभावित छु,’ उनले भने ।

चार वर्षपछि फिल्म ‘सत्यम्’ बाट अभिनयमा फर्किने तयारीमा रहेका उनले जीप कम्पास ८४ लाखमा खरिद गरेको जानकारी प्राप्त छ । केही समय अगाडि सुपरस्टार भुवन केसीले पनि जीप कम्पास खरिद गरेका थिए । पछिल्लो समय नेपाली कलाकारहरुको रोजाई बनेको यो गाडीको बजार मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म रहेको बताइएको छ ।