कांग्रेसलाई बलियो बनाउन सक्षम नेतृत्व आवश्यक: सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन्।

कांग्रेस काठमाडौंका सभापति पदका उम्मेदवार कृष्ण सबुज बानियाँ समूहको उम्मेदवारी घोषणा सभा सम्बोधन गर्दै उनले पार्टीमा सक्षम नेतृत्व आवश्यक रहेको बताएका हुन्।

‘पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढंगले सञ्चालन गर्नका लागि १४ औँ महाधिवेशनबाट यस्तो नेतृत्व आवश्यक छ,’ नेता सिंहले भने।

उनले १४ औँ महाधिवेशनपछि पार्टी जनताको चाहनाअनुसार अगाडि बढ्ने पनि उल्लेख गरे।

२०७२ मा निर्माण भएको संविधानको नेतृत्व गरेको कांग्रेसले तीन तहको निर्वाचनमा हार्नुको कारणका बारेमो गम्भीर समीक्षा हुनुपर्ने उनको भनाइ थियो।

घोषणा सभामा केन्द्रीय सदस्य गगन थापाले पार्टीलाई विधिसम्मत ढंगले अगाडि बढाउनका लागि शीर्ष नेता अभिभावक बनेर बस्नुपर्ने बताए।

जनतालाई आशा र भरोसा दिने नेतृत्व १४ औँ महाधिवेशनले दिनुपर्ने पनि उनले बताए। थापाले मत हुने पार्टीमा मतभेद हुनु सामान्य भएको भन्दै विवेकपूर्ण ढंगले मतको प्रयोग गर्न सबैलाई आग्रहसमेत गरे।

कांग्रेस काठमाडौंका सभापतिका उम्मेदवार बानियाँले कांग्रेस संगठनलाई थप सशक्त बनाउनका लागि आफूले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिन लागेको बताए।

बानियाँ समूहबाट उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा गोविन्द पुडासैनी र इन्द्रबहादुर थापा तथा सहसचिवमा रोमेल श्रेष्ठ र प्रा.डा. अमिता प्रधानले उम्मेदवारी दिने घोषणा गरेका छन्।