महिला टी–ट्‍वान्टी विश्वकप छनौटमा नेपालको दाबेदारी कायमै

काठमाडौँ- आईसीसी महिला टी–ट्‍वान्टी विश्वकपको नयाँ संस्करण आउँदो फ्रेब्रुअरी, २०२३ मा हुँदैछ । दक्षिण अफ्रिकामा हुने विश्वकपमा कुल १० टिम सहभागी हुनेछन् । आयोजकका नाताले दक्षिण अफ्रिका विश्वकपका लागि स्वतः छनौट भइसकेको छ । महिला टी–ट्‍वान्टी को विश्व वरीयताको शीर्ष सातमा रहने टिम पनि दक्षिण अफ्रिकी भूमिमा हुने विश्वपकमा छनौट हुनेछन् । बाँकी रहने दुई स्थानका लागि भने क्षेत्रीय छनौट जारी छ ।

क्षेत्रीय छनौटबाट पाँच टिम ग्लोबल छनौटमा पुग्‍नेछन् । जहाँबाट दुई टिमले विश्वकप खेल्ने सपना पूरा गर्नेछन् । युरोपतर्फको छनौटमा शीर्षस्थानमा रहँदै स्कटल्यान्ड ग्लोबल छनौटका लागि छनौट भइसकेको छ । अफ्रिकी छनौटबाट जिम्बावे र उत्तर तथा दक्षिण अमेरिकी छनौटबाट अमेरिका ग्लोबल छनौटमा पुगिसकेका छन् । उता पूर्वी एसिया प्यासिफिक छनौट भने रद्द भएको छ भने एसियातर्फको छनौट भने जारी छ । र यो छनौटको शीर्षस्थानमा छ, नेपाल ।

संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा जारी छनौटमा लगातार तेस्रो जित हासिल गरेपछि नेपाल शीर्षस्थानमा रहेको हो । शुक्रबार भएको खेलमा नेपालले मलेसियलालाई ६ विकेटले पराजित गर्‍यो । आईसीसी एकेडेमीको मैदानमा भएको खेलमा नेपालले टस जित्दै फिल्डिङ रोजेको थियो ।

पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ९२ रनको योगफल तयार पारेको थियो । मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक ३९ रन बनाएकी थिइन् । ४८ बल सामना गर्दा चार चौका प्रहार गरेकी उनी अविजित रहिन् । पराजित टिमका लागि अन्य दुई खेलाडीले पनि दोहोरो अंक जोडे । मास एलिसा र युस्रिना याकोपले क्रमशः १४ र १२ रन बनाएका थिए ।

बलिङतर्फ नेपालकी सवनम राईले दुई विकेट लिइन् । यसैगरी कविता कुँवर, सिता राना मगर र रुविना क्षेत्रीले एक–एक विकेट लिए ।

मलेसियाले दिएको लक्ष्य नेपालले १८.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि सिता राना मगरले सर्वाधिक ३० रनको योगदान गरिन् । अनि कप्तान रुविनाको नाममा २० रन रह्यो भने सरिता मगर र कविता कुँवरले १५ तथा १० रन बनाए ।

अंक तालिकामा रहेको नेपाललाई आयोजक यूएईले पछ्याइरहेको छ । उसको खातामा पनि ६ अंक नै छ । कुल ६ टिम सहभागी रहेको छनौटमा कुवेत पुच्छारमा छ ।