दुल्लुमा कर्मचारीले अनिवार्य राष्ट्रिय गान गाउनुपर्ने

दैलेख। दुल्लु नगरपालिकामा अनिवार्य रूपमा कर्मचारीले राष्ट्रिय गान गाउनुपर्ने नियम लगाइएको छ। बिहान ९: ४५ बजेको समयमा कर्मचारीहरू उपस्थित भई संयुक्त रुपमा राष्ट्रिय गान गाउनुपर्ने कर्मचारीका सुझाव गुनासाहरू कार्यालय प्रमुखले सुन्नुपर्ने, सँगै कार्यालय प्रमुखले सोही दिन गर्ने कामको निर्देशन गर्ने नियम लगाइएको पाइएको हो। राष्ट्रसेवकको राष्ट्र प्रेम पनि झल्किनुको साथै कामको एकरुपताको लागि बिहान अनिवार्य राष्ट्रिय गान गाउने नियम लगाइएको प्रमुख प्रशासकीय अधिकृत तिलक बिकले बताए। जनताको सेवा सुविधाका लागि हाम्रो पालिकामा एकीकृत सेवा सञ्चालन गरी निवेदन लेख्न नजानेका र कुन फाँटमा जाने समेत कुरामा सेवाग्राही झुक्किने भएकाले हाम्रो आफ्नै कर्मचारी मार्फत निवेदन आफैंले लेखिदिने र सम्बन्धित फाँटमा सहजीकरण गर्नका लागि समेत पालिकाले कर्मचारी खटाएको विकले भने।