नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्र्तगत दुई पूर्व मन्त्री र सुर्खेत जिल्लाका पार्टी सभापति केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। बुधबार सम्पन्न प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को मत परिणाम अनुसार जिल्ला सभापति कमलराज रेग्मी, पूवमन्त्रीद्वय शिवराज जोशी र खड्कबहादुर बस्याल महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। रेग्मी दोस्रो कार्यकालका लागि पार्टी सभापतिका आकांक्षी थिए।
महाधिवेशन प्रतिनिधिमा पराजित पार्टी सभापति रेग्मी र पूर्वमन्त्रीद्वय जोशी र बस्याल रामचन्द्र पौडेल समूहका नेता हुन्। निर्वाचन समितिका अनुसार पार्टी सभापति रेग्मीले ३२० मत प्राप्त गरे। यस्तै पूर्वमन्त्री जोशीले ३१० मत प्राप्त गरे। रेग्मी र जोशी प्रत्यक्षतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पौडेल समूहबाट उम्मेदवारी दिएका थिए।
यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि दलित कोटाबाट उम्मेदवारी दिएका पूर्व स्वास्थ्य राज्यमन्त्री खड्कबहादुर बस्याल पनि पराजित भएका छन्। उनले ३०२ मत ल्याए। संस्थापन समूहका लोकबहादुर विश्वकर्माले ४७३ मत ल्याएर विजयी भए। मंगलबार सम्पन्न निर्वाचनबाट सुर्खेतका दुई वटै क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा संस्थापन (शेरबहादुर देउवा) समूहले एकलौटी गरेको छ।
क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिको सभापतिमा संस्थापन समूहका झकबहादुर डाँगीले ७१९ मत ल्याएर विजयी हुँदा पौडेल समूहका बलबहादुर वलीले १०३ मत मात्रै प्राप्त गरे। यस्तै सचिवमा संस्थापन समूहका मोहन राना (७२०) र पदमबहादुर खत्री (७१७) मत ल्याएर विजयी भए। सहसचिवमा संस्थापन समूहका प्रेमसिंह ठकुरी (६८४) र यामलाल पंगाली (६८७) मत ल्याएर विजयी भए।
महाधिवेशन प्रतिनिधिमा महामन्त्री खड्कासँगै उदय गिरी, ऋषिप्रसाद शर्मा, खड्गबहादुर पोखरेल, खिमानन्द ढकाल, देवबहादुर चन्द, नरहरि भट्टराई, लक्ष्मीदत्त पौडेल, हरिप्रसाद शर्मा, हिरामणि सुनार, अमृता शाही, खगिसरा आचार्य, धनकुमारी बुढा योगी, मैना विक, यामकुमारी बैगार, उदे कामीलगायत विजयी भए।
क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमितिको सभापतिमा संस्थापन समूहका इन्द्रबहादुर रावत विजयी भए। उनले ४८६ मत ल्याए। उनका प्रतिद्वन्द्वी पौडेल समूहका ललित भट्टराईले २८८ मत प्राप्त गरे। सचिवमा संस्थापन समूहका दिलीपकुमार वाग्ले (४९९) र बलबहादुर विष्ट (५१४) मत ल्याएर विजयी भए।
सहसचिवमा संस्थापन समूहका गगनबहादुर नेपाली (४९३) र शेरबहादुर अधिकारी (४९९) मत ल्याएर विजयी भए। यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधितर्फ उपेन्द्रबहादुर थापा (५०१), विष्णुबहादुर खड्का (५००), कमलबहादुर खत्री (४५७), कालीप्रसाद शाक्य (४६२), टोपबहादुर रावत (४९५), तिर्थजंग शाही (४६५), नारायणप्रसाद सापकोटा (४१९), निराजन केसी (४३९), श्यामकुमार भारती (४६०) मत ल्याएर विजयी भए। यस्तै महाधिवेशन प्रतिनिधि महिला प्रत्यक्षतर्फ जानकी सिंह (४५९), धनादेवी विष्ट (४५७), मुक्तिदेवी पुरी रेग्मी (४३८) र रुकमणि रेग्मी (४२४) मत ल्याएर विजयी भए भने खस आर्यतर्फ डिल्लीराम पाठक (५००), देवकुमार सुवेदी (५१६) र विवेक आचार्य (४७०) मत ल्याएर विजयी भए।
अनलाइन नागरिक ८ मंसिर २०७८, बुधबार १९:४५