बजारमा पुरानै इन्टरनेट प्रदायकको दबदबा, के गर्दैछन् नयाँ कम्पनी ?

काठमाडौं । इन्टरनेट बजारमा पुरानै इन्टरनेट सेवाप्रदायकको दबदबा देखिएको छ । इन्टरनेट स्पिड र गुणस्तरको विषयलाई सामाजिक सञ्जालमा प्रयोगकर्ताको चर्को गुनासो सुनिने भए पनि नयाँ ग्राहकको रोजाईमा भने तिनै पुराना कम्पनी पर्ने गरेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार पछिल्लो एक वर्षमा कूल पाँच लाख ३० हजार २२२१ नयाँ इन्टरनेट कनेक्सन भएका छन् । जसमध्ये पाँच लाख आठ हजार ४११ ग्राहक ठूला ८ ओटा इन्टरनेट सेवाप्रदायककै पोल्टामा परेका छन् ।

जुन एक वर्षमा थपिएका कूल नयाँ ग्राहकको करिब ८५ प्रतिशत हो । नयाँ ग्राहक थप्नेमा निजी इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क सबैभन्दा अगाडि छ । कम्पनीले यस अवधिमा मात्रै कूल एक लाख ३१ हजार ५८९ नयाँ ग्राहक बढाएको छ ।

यसैगरी दोस्रो धेरै ग्राहक थप्नेमा सुबिसु छ । उसले पछिल्लो एक वर्षमा ७३ हजार ४९१ ग्राहक बनाएको छ । त्यसपछि क्रमशः वेबसर्फरले ४४ हजार ३७१, क्लासिकटेकले ४७ हजार २९७, भायानेटले ३९ हजार ४४८, डिशहोम फाइबर नेटले २९ हजार ४४३, नेपाल टेलिकमले २९ हजार १८९, टेकमाइन्ड्सले २७ हजार ५ र ब्रोडलिङ्कले ११ हजार ७९ नयाँ ग्राहक थप्न सफल भएको छ ।

तर नयाँ ग्राहकको आकर्षण पछिल्लो समय बजारमा आएका कम्पनीहरूमा खासै देखिएको छैन । नयाँ ग्राहक धेरै बनाउने शीर्ष ९ कम्पनीमा नेपाल टेलिकम र डिशहोमले क्रमशः पाँचौँ र छैटौँ स्थान ओगटेका छन् ।

इन्टरनेट ग्राहक सङ्ख्या

सेवाप्रदायक असोज २०७७ भदौ २०७८ थपिएका नयाँ ग्राहक
वर्ल्डलिङ्क 411,459 543,048 131,589
सुबिसु 160,831 234,322 73,491
वेबसर्फर 29,671 74,042 44,371
क्लासिक टेक 115,876 160,173 44,297
डिशहोम 0 29443 29443
भायानेट 121,159 160,607 39,448
नेपाल टेलिकम 264,574 293,763 29,189
टेक माइन्ड्स 42,908 69,913 27,005
ब्रोडलिङ्क 35,139 46,218 11,079
अन्य 52,672 131,171 78,499
कूल 1,234,289 1,742,700 508,411

ग्राहकको माग भएको स्थानमा सेवा विस्तार गर्न नसकेका कारणले समेत नयाँ इन्टरनेट कम्पनीहरू पछि परेको हुनसक्ने सहज अनुमान गर्न सकिन्छ । टेलिकमले सात वर्ष अघि र डिशहोमले करिब एक वर्ष अघि मात्र एफटीटीएच इन्टरनेट सेवा सुरु गरेका हुन् ।

यद्यपि टेलिकमले वायरलेस र एडीएसएल प्रविधिमार्फत समेत वर्षौँदेखि इन्टरनेट सेवा दिँदै आएको हो । पछिल्लो समय बजारमा आएको सीजीनेट भने धेरै नयाँ ग्राहक बनाउने सूचीमा शीर्ष नौभित्र समेत अटाउन सकेको छैन ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार सीजीले गत भदौ मसान्तसम्म तीन हजार २१ ग्राहक मात्रै बनाउन सकेको छ । बाँकी ३५ इन्टरनेट सेवाप्रदायक कम्पनीले कूल मिलाएर ७८ हजार ४४९ ओटा नयाँ ग्राहक बनाउन सकेका छन् । सबैगरी पछिल्लो पटक नेपालमा कूल इन्टरनेट ग्राहकको सङ्ख्या १७ लाख ४२ हजार ७०० रहेको छ । यसमा मोबाइल इन्टरनेट ग्राहकको सङ्ख्या भने जोडिएको छैन ।