जितेर पनि बाहिरियो दक्षिण अफ्रिका, इग्ल्यान्ड र अस्ट्रेलिया सेमिफाइनलमा

टी-२० विश्वकप अन्तर्गत अन्तिम खेलमा जित हासिल गरे पनि दक्षिण अफ्रिका बाहिरिएको छ भने इग्ल्यान्ड र अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेका छन्।

गएराति यूएईमा भएको सुपर-१२ को खेलमा दक्षिण अफ्रिकाले इग्ल्यान्डलाई १० रनले पराजित गरेको हो। दक्षिण अफ्रिकाले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा इग्ल्यान्ड १७९ रनमै समेटियो।

इग्ल्यान्डका लागि मोइन अलिले ३७, डेभिड मलनले ३३, लिम लिभिङस्टोनले २८, जोस बटलरले २६ र जोसन रोयले २० रन बनाए।

अन्तिम ओभरमा कशिगो रबड्डाले ह्याट्रिक लिएपछि दक्षिण अफ्रिकाले जित हासिल गर्‍यो। तर, रनरेटका आधारमा इग्ल्यान्ड र अस्ट्रेलिया विश्वकपको सेमिफाइनलमा प्रवेश गरेका छन्।

समूह-१ का इग्ल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिकाको समान आठ अंक पुगेको छ। रनरेटमा भने इग्ल्यान्ड र अस्ट्रेलिया अगाडि रहँदै सेमिफाइलन यात्रा तय गर्न सफल भए। इग्ल्यान्डको २.४, अस्ट्रेलियाको १.२ र दक्षिण अफ्रिकाको ०.७ रनरेट रहेको छ।

यसअघि वेस्ट इन्डिजलाई हराउँदै अस्ट्रेलियाले आठ अंक जोडेको थियो। योसँगै अस्ट्रेलियाले रनरेट सुधार गरेको थियो।

वेस्ट इन्डिजले दिएको १५७ रनको लक्ष्य अस्ट्रेलियाले १६.२ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो। अस्ट्रेलियाका लागि डेभिड वार्नरले अभिजित ८९ रन बनाएका थिए। जसले अस्ट्रेलियाको सेमिफाइनल यात्रा तय भएको हो।

इग्ल्यान्डसँगको खेलमा दक्षिण अफ्रिकाका लागि रसिब भान डर डुसेनले अविजित ९४ रनको उत्कृष्ट पारी खेले। उनले ६० बलमा ६ छक्का र पाँच चौका प्रहार गरे। त्यस्तै, अडेन म्याक्रमले ५२ र क्विन्टन डि ककले ३४ रन बनाएका थिए।

टी-२० विश्वकपको सेमिफाइनलमा पुग्ने तीन टोलीको टुंगो लागिसकेको छ। समूह २ बाट पाकिस्तान यसअघि नै सेमिफाइनल पुगिसकेको छ। अब सेमिफाइनल यात्राका लागि आज अफगानिस्तान र न्यूजिल्यान्ड भिड्दै छन्। भारतको सेमिफाइलन यात्रा पनि यहि खेलमा निर्भर छ।