पाँच दलीय गठबन्धन संविधानको रक्षा र देशको हितको लागि बनेको होः काँग्रेस उपसभापति खड्का

सुर्खेत, वैशाख २६ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनको निर्णय पालना गर्न पाँच दलीय गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति खड्काले दलका आन्तरिक विधान एवम् नियमभित्र रही गठबन्धनका आधिकाकिर उम्मेवादरलाई स्थानीय चुनावमा जिताउन आग्रह गरे । उनले संविधानको रक्षा र पिछडिएका, सिमान्तकृत वर्गका माग पूरा गर्न नेपाली काँग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन बनेको बताए ।

‘कुनै उम्मेदवारलाई जिताउन र कुनैलाई हराउनका लागि भनेर गठबन्धन भएको होईन, संविधानको रक्षा र देशको हितको लागि बनेको हो,’ उपसभापति खड्काले भने, ‘एमाले अध्यक्ष केपी ओलीको प्रतिगमनकारी कदमको प्रतिकार गर्नका लागि पनि गठबन्धन आवश्यक थियो र बन्यो ।’

निर्वाचनको नजिक पार्टी भित्रका असहमति र गुनासो भए आन्तरिक बसाईबाट टुंग्याउन आग्रह गर्दै उनले नेता र नेतृत्वबाट भएका कमजोरीलाई निर्वाचन पछि सच्याईने बताए ।

‘कसैले चुनाव चिन्ह बिर्सेर गठबन्धनलाई हराउने काम गर्नु राम्रो होईन, भोली जीतकै आधारमा अहिलेका समस्या समाधान गर्ने बेला आउँछ,’ उनले भने, ‘यो पवित्र गठबन्धन जोगाउन रुखमा भोट हाल्नेले रुखमा र गठबन्धनका उम्मेदवारलाई तोकिएको अर्को चिन्हमा भोट हालौं ।’ उनले उम्मेदवारहरुले गरेका संकल्प पूरा गर्नेगरी केन्द्रबाट बजेट पठाउन आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाए ।