आधुनिकताको प्रभावले लोप हुँदै रैथाने यन्त्र

आधुनिकतासँगै ग्रामीण भेगका परम्परागत घरेलु यन्त्र÷उपकरण हराउन थालेका छन् । सुविधाभोगी मानव स्वभाव र आधुनिकताको प्रभावस्वरुप कर्णालीका ग्रामीण भेग (विशेषगरी मध्यपहाड क्षेत्र) बाट ढिकी, जाँतो, हाते मुसल, कोल लगायतका रैथाने यन्त्र÷उपकरण लोप हुँदै गएका छन् ।

ग्रामीण क्षेत्रमा भित्रिएका टुकटुके मिल र पानी घट्ट निर्माण भएपछि कुटानी पिसानी गर्ने यस्ता यन्त्र विस्थापित हुँदै गएका हुन् । मानिसले यस्ता परम्परागत यन्त्र प्रयोग गर्न छाडेसँगै गाउँघरको रहन–सहनमा समेत परिवर्तन हुँदै आएको छ ।

पहिला दसैँ–तिहार जस्ता चाडबाडका लागि ढिकी, जाँतोमा कुटानी पिसानी गरेको अन्नबाट बनाइएको खानपिनलाई विशेष महत्वका साथ लिइन्थ्यो । तर, अहिले त्यो परम्परा लोप हुँदै गइसकेको छ । गाउँघरमा आफैले उत्पादन गरेको तोरी पेलेर तेल निकालिन्छ, जो शुद्ध पनि हुन्छ । यसरी तोरी पेल्न गाउँघरमा कोल बनाइएको हुन्थ्यो । तर, अहिले बजारमा पाइने विभिन्न ब्रान्डका तेल किनेर प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ भने कोलमा तोरी पेल्ने प्रचलन हराउँदै गएको छ ।

झण्डै दुई दशक अगाडिसम्म चलनचल्तीमा आएका यी घरेलु यन्त्र अहिले बिरलै देख्न सकिन्छ । स्थानीय महिला भने अहिले आधुनिक यन्त्रको विकाससँगै सुविधा बढेको बताउँछन् । ‘पहिला ढिकी जाँतो, हाते मुसलले गर्दा हामी महिलालाई दुःख हुन्थ्यो,’ अछामको तुर्माखाँद गाउँपालिकाको भुलुबाट दैलेखको पालेतडा बजारमा तिहार लक्षित खाद्यान्न सामग्री लिन आएकी मनिषा शाही भन्छिन्, ‘आधुनिक घट्ट, टुक–टुके मिल आएपछि सहज भएको छ ।’

गाउँघर नजिक बजार नभएकाले कर्णालीवारी सामान लिन आएकी उनले भनिन्, ‘कुटानी पिसानी गर्दा लाग्ने समय बचत भएसँगै बालबच्चाको सरसफाई, तरकारी खेतीमा समय दिने गरेका छौं ।’

यसले गर्दा फाईदा र बेफाइदा दुवै हुने गरेको छ । आधुनिक घट्ट र टुकटुके मिलले गर्दा गाउँमा पाइने अर्गानिक अन्नको स्वाद हराएको स्थानीय बुढापाका बताउँछन् । ‘महिलाका दुःखमा कमी भए पनि खानाको स्वाद नै बिगा¥यो,’ दैलेखको ठाटीकाँधका स्थानीय भगे कामी भन्छन्, ‘ढिकी र जाँतोमा कुटानी पिसानी गरिएका अन्नमा जुन स्वाद पाइन्छ, त्यो स्वाद अहिले पाइँदैन ।’

गाउँघरमा आधुनिकताले एकातिर मान्छेहरूलाई अल्छी बनाएको छ भने उत्पादनमा कमी भई परनिर्भर बनाउँदै लगेको छ । तथापि, परम्परागत यन्त्रलाई लोप हुन नदिन सरकारी निकायबाट योजना ल्याउन आवश्यक रहेको कालिकोटका नेपाली काँग्रेसका युवा नेता दमन शाही बताउँछन् ।

‘हाम्रा परम्परागत यन्त्रले त गाउँघरमा पर्यटक भित्र्याउन सकिन्छ । मान्छेहरु बाहिरबाट घुम्न आए भने अचम्म मान्छन्,’ उनले भने, ‘यहाँ यस्तो परम्परा रहेछ भन्छन् । अझै पनि यहाँका मान्छे यस्ता साधन प्रयोग गर्छन् भनेर सहर बजारका मानिस आकर्षित हुन्छन् ।’

आधुनिक यन्त्रले ग्रामीण भेगका किशोरीलाई भने अझ सहजता प्रदान गरेको छ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ की मनिषा शाही भन्छिन्, ‘आधुनिक यन्त्रले किशोरी र महिलाका दुःखमा परिर्वतन आएको छ । ७–८ वर्ष पहिला हामी विद्यालय जानुभन्दा पहिला कुटानी पिसानी गर्न जानुपर्थ्यो । अहिले स्कुल बिदाको दिन पानी–घट्टमा गएर धुलो पिसेर ल्याईहाल्छम् ।’

चुलो चौकोमा सीमित रहने महिलाहरु अहिले गाउँघरमा हुने सेमिनार, गोष्ठी, कार्यक्रमहरुमा सहभागिता जनाउने गरेका छन् । पश्चिम दैलेखको आठबीस नगरपालिका–१ सात्तलाकी थुमी खड्काका अनुसार घट्टमा पिसानी गरेको माना–पाथी दिने चलन छ । ‘हामी ३० केजी गहुँ पिस्दा ३ माना गहुँ दिन्छौं, मकैको पनि सोही माना तिर्नुपर्छ,’ उनले भनिन्, ‘मिलमा भने रकम तिर्ने गरिन्छ ।’

उनका अनुसार महिलालाई आधुनिक यन्त्रले केही सुविधा भए पनि मिल या घट्टमा महिलाकै उपस्थिति हुन्छ । जहाँ जसरी काम भए पनि यस्ता जोखिमयुक्त काममा पुरुषको सहभागिता बढाउनुपर्ने आठबीस नगरपालिका दैलेखकी उप–प्रमुख दीपा बोहोरा बताउँछिन् ।

‘हामीले आधुनिकतासँगै महिलाका दुःख देखेर पानी घट्ट बनायौं, संस्कार बचाउनकै लागि ढिकी, जाँतोलाई हटाउनै पर्छ भन्ने अडान लिएका छैनौं । संस्कार पनि बच्ने, महिलालाई सुखको लागि पानी घट्ट, स्वादिलो खानाको लागि ढिकी जाँतो लोप हुन दिनुहुँदैन,’ उनी भन्छिन् ।

पछिल्लो समय गाउँबस्तीबाट हातेमुसल, ढिकीजाँतो लोप हुँदै गए पनि यहाँका बासिन्दा संस्कार बचाउन र खानाको स्वाद कायम राख्न आएका पाहुनालाई ढिकी जाँतोमा कुटानी पिसानी गरेको खाना खुवाउने गर्छन् ।