सुर्खेत जिल्ला देउवाको किल्ला !

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर रामचन्द्र पौडेल समूहको किल्लाका रुपमा परिचित थियो । पौडेल समूहका हृदयराम थानीको निर्वाचन क्षेत्रसमेत रहेको वीरेन्द्रनगरले समग्र जिल्लाको राजनीतिमा प्रभाव पार्दथ्यो । वीरेन्द्रनगरमा मजबुत रहेकालेनै जिल्ला नेतृत्वमा पौडेल समूह विजयी हुन्थ्यो । तर, १४ औं महाधिवेशनबाट भने वीरेन्द्रनगरसहित सुर्खेत जिल्लाबाट पौडेल समूह बडारिएको छ । संस्थापन शेरबहादुर देउवा समूहले जिल्लामा वर्चश्व कायम गरेको छ ।
वडा र पालिकासम्मको नजिता आउँदा जिल्लामा पौडेल समूह लगभग शून्य अवस्थामा पुगेको छ । ९९ वडा रहेको सुर्खेतमा अधिकांसमा संस्थापन समूह विजयी भएको छ । नौ पालिका मध्ये संस्थापन समूहले आठ वटा पालिकामा विजयी भएको छ भने एउटामा मात्रै पौडेल समूह विजयी भएको छ । पौडेल समूहले गुर्भाकोट नगरपालिका, लेकवेशी नगरपालिका र सिम्ता गाउँपालिकामा उम्मेदवारसम्म पाएन् । गुर्भाकोट र लेकवेशीमा सर्वसम्मत नेतृत्व चयन भयो । सिम्तामा संस्थापन समूहकै दुई जना सभापतिका लागि चुनावी मैदानमा उत्रिए ।
गुर्भाकोट नगरपालिकामा हस्त पुन निर्वाचित भए । यहाँ पौडेल समूहले उम्मेदवारी दिएन् । गुर्भाकोटमा उपसभापतिमा लालबहादुर पुन र मधु गुरुङ, सचिवमा प्रेमप्रकाश वली र बासुदेव शर्मा, सहसचिवमा रुपक पौडेल र पुष्पा नेपाली विजयी भए । लेकवेशीमा पनि सर्वसम्मत नेतृत्व चयन भयो । यहाँ पनि पौडेल समूहले उम्मेदवारी पाएन् ।
चिंगाड गाउँपालिकामा देउवा समूहका डोरप्रसाद शर्मा विजयी भए । उनले पौडेल समूहका पालिका सभापति रहेका करसिंह रानालाई दोब्बरबढी मतान्तरले पराजित गरे । देउवा समूहका शर्माले ६४ ममत ल्याउँदा पौडेल समूहका रानाले ३५ मत ल्याए । भेरीगंगामा पनि देउवा समूहका रामबहादुर सिंह विजयी भए । उनले १९४ मत ल्याउँदा पौडेल समूहका किरणकुमार भाटले २२ मत मात्रै ल्याए । भेरीगंगामा देउवा समूहका रेशमबहादुर पुन र प्रतिक्षा विक निर्वाचित भ एभने सचिवमा लालसिंह बुढाक्षेत्री र हिरालाल खत्री निर्वाचित भए । सहसचिवमा टिकाराम वली र धर्मराज खड्का निर्वाचित भए ।
यस्तै बराहताल गाउँपालिकामा देउवा समूहका भीमबहादुर भण्डारी निर्वाचित भए । उनले पौडेल समूहका भुवनसिंह सिजापतिलाई पराजित गरे । भण्डारीले १०४ मत ल्याउँदा सिजापतिले ५० मत मात्रै ल्याए । सिम्तामा पौडेल समूहले उम्मेदवारी पाएन् । यहाँ देउवा समूहकै दुई जना उम्मेदवार थिए । विजयी वीरेन्द्र रावतले ११९ मत ल्याउँदा पराजित भएका अशोक केसीले २४ मत ल्याए ।
पञ्चपुरीमा देउवा समूहका कृपाराम थापा निर्वाचित भए । कृपारामले १५६ मत ल्याउँदा पौडेल समूहका थानीप्रसाद घिमिरेले १२ मत मात्रै ल्याए । पञ्चपुरीमा देउवा समूहका चन्द्रप्रसाद सापकोटा र जगतबहादुर विसी उपसभापतिमा निर्वाचित भए भने सचिवमा चक्रपाणि न्यूरे र दिपक जैसी तथा सहसचिवमा गोविन्द सिंजाली र विष्णुप्रसाद घिमिरे निर्वाचित भए ।
यस्तै प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा देउवा समूह विजयी भएको छ । यहाँ देउवा समूहका उपेन्द्र खड्का विजयी भए । उनले पौडेल समूहका नारायणकुमार कोइरालालाई पराजित गरे । क्षेत्रीय सभापति रहेका कोइराला नगर सभापतिमा चुनाव लडेका थिए । खड्काले १९९ मत ल्याउँदा कोइरालाले १४७ मत प्राप्त गरेका थिए । यस्तै उपसभापतिमा देउवा समूहका मानबहादुर चन्द र वशन्ती थापा विजयी भए । सचिवमा देउवा समूहकै रमेश सापकोटा र मिलन श्रेष्ठ विजयी भए ।