कर्णाली प्रदेशको चौमासिक खर्च साढे चार प्रतिशत मात्र

सुर्खेत, । पहिलो चौमासिकमा प्रदेश सरकारले साढे चार प्रतिशत बजेट खर्च गरेको छ । बार्षिक ३६ अर्ब ५३ करोड ५५ लाख २६ हजारमध्ये सरकार चार महिनाको अवधिमा एक अर्ब ६७ करोड ४४ लाख ८२ हजार मात्रै बजेट खर्च गरेको छ । विकासे अड्डाका रुपमा चिनिने भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयकै विकास बजेट न्यून छ ।

मन्त्रालयले चार महिनाको अवधिमा तीन प्रतिशत अर्थात ३८ करोड ७१ लाख १५ हजार बजेट खर्च गरेको हो । जवकी मन्त्रालयसँग एक तिहाई अर्थात १२ अर्बभन्दा बढी बजेट छ । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुई प्रतिशत अर्थात चार करोड ७३ लाख विकास बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय सुर्खेतले जनाएको छ ।

चार महिनामा आर्थिक मामिला तथा योजना मन्त्रालयले साढे १९ प्रतिशत अर्थात चार करोड ५९ लाख, उद्योग पर्यटन, बन तथा वातावरण मन्त्रालयले सात प्रतिशत अर्थात १६ करोड ९३ लाख बजेट र जलस्रोत तथा उर्जा विकास मन्त्रालयले एक प्रतिशत अर्थात तीन करोड ३४ लाख मात्रै बजेट खर्च गरेको छ ।

त्यस्तै भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले साढे पाँच प्रतिशत अर्थात १६ करोड १८ लाख, आन्तरिक मामिला तथा कानून मन्त्रालयले साढे आठ प्रतिशत ५ करोड ९० लाख, सामाजिक विकास मन्त्रालयले सात प्रतिशत अर्थात ५७ करोड ८२ लाख बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय सुर्खेतका सूचना अधिकारी यमुना श्रेष्ठले जानकारी दिइन् । चौमासिक प्रगति हेर्दा बजेट कार्यान्वयनमा प्रदेश सरकार पुनः चुक्ने देखिएको छ ।