गायिका समीक्षा अधिकारीसँगको प्रेम र विवाहको चर्चापछि नायक पल शाहले मिडियासँग दूरी बढाउन थालेका छन् ।
शनिबार बेलुका काठमाडौंको सोल्टीमोडस्थित एक होटलमा पल अभिनित एक गीतको भिडियो सार्वजनिक गर्ने कार्यक्रम थियो । समाचार संकलनका लागि पुगेका केही सञ्चारकर्मीलाई पल उपस्थित कार्यक्रममा प्रवेश गर्न नै नदिइएपछि उनले मिडियासँग दूरी बढाउन थालेको देखिएको हो ।
पल शाहले नै तयार पारेको सञ्चारकर्मी र मिडियाको नामका आधारमा आयोजकले खबर गरेको बताइएको छ ।
उसो त, पल शाहकै यसअघिका कैयौं म्युजिक भिडियो रिलिज कार्यक्रममा क्यामेराको ठूलै भीड लाग्ने गरेको थियो । तर समीक्षासँगको प्रेम र विवाह चर्चापछि भने उनी मिडियासँग टाढिन थालेको देखिन्छ ।
यसअघि गत वर्ष फागुनमा आयोजना भएको ‘नेफ्टा फिल्म अवार्ड’मा पुगेका पलले मिडियाको क्यामेराका हेर्दै नहेरी हलमा प्रवेश गरेको विषयले पनि चर्चा पाएको थियो । केही महिना अगाडि पनि उनले एक भिडियोको मिडिया भेटघाट कार्यक्रममा पाँच घण्टासम्म कुराएका थिए ।
शनिबारको पत्रकार सम्मेलनमा उठेको यही प्रश्नको जवाफ दिँदै पलले आफूले मिडियालाई विभेद नगरेको बताएका छन् । उनले आफूलाई पनि आयोजकले शुक्रबार मात्र कार्यक्रमको बारेमा खबर गरेको भन्दै उनले मिडियालाई विभेद गरेको खबर झुटो भएको बताए ।
कार्यक्रमको शुरुमै भिडियोको भन्दा बाहिरको प्रश्न नसोध्न सञ्चारकर्मीलाई आग्रह गरिएको थियो ।
अनलाइन नागरिक २८ कार्तिक २०७८, आईतवार १३:२४