महाधिवेशन तयारीमा काँगेस बैठक

काठमाडौँ –  नेपाली काँग्रेसको आगामी केन्द्रीय कार्यसमितिको बैठक मुख्य रूपमा १४औँ महाधिवेशनको तयारीमा केन्द्रित रहने भएको छ । यही कात्तिक २८ गते बोलाइएको बैठक मुख्यगरी महाधिवेशन तयारी, हालसम्म भएको पार्टीका विभिन्न तहको निर्वाचनको समीक्षालगायतका विषयमा केन्द्रित रहने भएको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक पूर्ण रूपमा महाधिवेशनको तयारी केन्द्रित हुने जानकारी दिए। उनले महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिकामा परिमार्जन नहुने भन्दै आउँदो मङ्सिर २४ गते महाधिवेशन उद्घाटन गरिने जानकारी दिए। काँग्रेसले महाधिवेशन प्रक्रियाअन्तर्गत राजधानीको भृकुटीमण्डपमा मङ्सिर २४ देखि तीन दिनसम्मका लागि हल बुकिङ गरिसकेको छ । मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन हुनेछ । महाधिवेशन काठमाडौँमा गर्ने निर्णय पार्टीले यसअघि गरिसकेको छ ।
काँग्रेसले महाधिवेशन तयारीअन्तर्गत जिल्ला निर्वाचन सम्पन्न हुन बाँकी रहेका जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । रौतहटबाहेक ६३ जिल्लामा निर्वाचन अधिकृत खटाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

पार्टीले रौतहट जिल्लाको क्रियाशील सदस्यताको विवाद भने मिलाउन बाँकी छ । रसुवाको भने क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेर प्रतिनिधि खटाइएको छ । अब निर्वाचन अधिकृतले पार्टीको जिल्ला समिति र निर्वाचन समितिसँगको समन्वयमा जिल्ला अधिवेशनसम्मको काम पूरा गर्ने जानकारी निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए । १४औँ महाधिवेशनअन्तर्गत हालसम्म विभिन्न १३ वटा जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । पार्टीको प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते हुनेछ । जिल्ला अधिवेशन मङ्सिर १० गते तोकिएको छ । यसैबीच, काँग्रेसको १४औँ महाधिवेशनमा परम्परागत शैलीकै मतदान गरिने भएको छ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ (विद्युतीय मतदान)को तयारीबारे अहिलेसम्म खासै तयारी तथा छलफल नभएकाले परम्परागत हिसाबले नै मतदान गरिने भएको हो ।
केन्द्रीय निर्वाचन समितिका संयोजक यादवले अहिलेसम्म निर्वाचन समिति र पार्टीबीचमा विद्युतीय मतदानको विषयमा कुराकानी नभएकाले परम्परागत शैलीमै मतदानको व्यवस्था गरिने जानकारी दिए। उनले केन्द्रीय महाधिवेशनको पूर्वघोषित कार्यतालिका आउन अब चार साता मात्र बाँकी रहेकाले विद्युतीय मतदानका लागि समयसमेत अपुग हुने बताए। महाधिवेशनमा विद्युतीय मतदानको प्रयोग हुन नसकेपछि प्रदेशस्तरमा समेत यसको प्रयोग नहुने भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि काँग्रेसले पहिलो पटक प्रदेशस्तरको पार्टीको संरचना बनाउन लागेको हो ।
पार्टीमा पाँच हजारको हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने भएकाले पनि यसका लागि धेरै तयारी गर्नुपर्ने अवस्था रहेको छ । एउटा महाधिवेशन प्रतिनिधिले सभापति पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि एक सयभन्दा बढी उम्मेदवारलाई मतदान गर्नुपर्ने भएकाले पनि विद्युतीय मतदानको प्रबन्ध गर्न समस्या भएको भनाइ निर्वाचन समितिको छ ।

कार्यकर्ता अनशनमा
नेपाली काँग्रेसमा सबै जिल्लामा क्रियाशील सदस्यताको विवाद किनारा लागेर महाधिवेशन तयारीमा जुटे पनि रौतहटको समस्या समाधान हुन सकेको छैन । क्रियाशील सदस्यताको विवाद किनारा लाग्न नसक्दा जिल्लाका एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता लामो समयदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा अनशनरत रहेको पाइएको छ । जिल्लाको क्षेत्र– १ मा काँग्रेसका कार्यकर्ताभन्दा फोरम सम्बद्ध कार्यकर्ताले धेरै क्रियाशील सदस्यता पाएको विरोधमा कार्यकर्ताहरू विगत ११० दिनदेखि अनशनमा बसेका हुन् ।
पार्टी कार्यालय सानेपामा अनशनमा बस्नुभएका पूर्वमहाधिवेशन प्रतिनिधि नवलकिशोर शाहले क्षेत्र– १ का कुल ४१ वटा वडामध्ये ३१ वडामा पार्टी केन्द्रीय कार्यालयमा उजुरी दिइएको जानकारी दिए । क्रियाशील सदस्यताको वितरणमा चरम धाँधली गरिएका कारण आफूहरू अनशनमा बस्न बाध्य भएको उनको भनाइ छ । पार्टीमा लामो समयदेखि काम गरेका नेता तथा कार्यकर्तालाई क्रियाशील सदस्यताबाट वञ्चित गरिएको गुनासो उनले गरे ।

रौतहटको दुर्गा भगवती गाउँपालिका एकाइ समितिका अध्यक्ष नरुल हकले पार्टीमा क्रियाशील सदस्यतामा अनियमितता गरेपछि आफूहरू पार्टी कार्यालयमा धर्नामा बसेको बताए। लामो समय भइसक्दा समेत समस्या समाधानमा नेताहरूले खासै चासो नदिएको दुःखेसो अनशन बसेका नेता कार्यकर्ताको छ । यसबीचमा पार्टी सभापति शेरबहादुर देउवासित भेट गरेर कुरा राख्न नपाएको गुनासो गाउँपालिकाका अध्यक्ष हकले गरे । पार्टीका १२ जना नेता हाल पार्टी केन्द्रीय कार्यालयको मुख्य प्रवेश द्वारमा अनशनमा छन् । महाधिवेशन प्रतिनिधि उदयकान्त यादव, जिल्ला कोषाध्यक्ष रामश्रीष शाह, भोगेन्द्र झा, देवचन्द्र मिश्रलगायतका नेता तथा कार्यकर्ता अनशनमा रहेका छन् । पार्टीका मुख्यसचिव पौडेलले बाँकी विवाद मिलाउन छानबिन समितिले काम गरिरहेको जानकारी दिए।