१०१ वर्षमा अस्ताएकी हजुर आमा: जसले लिइनन् सामाजिक सुरक्षा भत्ता

डोटी- सरकारले नागरिकलाई दिदै आएको सामाजिक सुरक्षा भत्ता नलिने व्यक्ति विरलै भेटिन्छन् । कतिपय व्यक्तिहरुले मृत्यु भएका व्यक्तिहरुको नामबाट समेत सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेको पाइन्छ ।

आर्थिक अवस्था बलीयो भएका परिवारका सदस्यहरुले समेत सामाजिक सुरक्षा भत्ता लिन छोड्दैनन् । सरकारी सेवा लिने व्यक्तिहरुले दोहोरो सुविधा लिएको पाइन्छ । तर, शिखर नगरपालिका–८ निवासी स्व. देउमती बलायरले आफुले पाउने एकल र बृद्ध भत्ता लिइनन् । मध्यमवर्गीय परिवारकी बलायरले हालसम्म स्वेच्छिक रुपमा सामाजिक सुरक्षा भत्ता नलिएको वडाध्यक्ष शिद्ध बलायरले बताए ।

सामाजिक सुरक्षा भत्ता वितरणका लागि केही वर्ष अघि वडाको टोली उहाँको घरसम्मै गयौं,‘एकल तथा जेष्ठ नागरिक उनलाई उपचार खर्च र आफ्नो हेरचाह गर्न सजिलो हुन्छ भत्ता लिनुस् भनेर सम्झायौं,‘वडाध्यक्ष बलायरले भने,‘तर उहाँले भत्ता लिन मान्नु भएन बरु आर्थिक अवस्था कमजोर भएका र हेरचार गर्ने कोही नभएका व्यक्तिलाई मात्र छानेर भत्ता दिन सुझाव दिदै फर्काउनु भयो ।’

सामाजिक सुरक्षा भत्ता नलिने जेष्ठ नागरिक देउमती बलायरको मंगलबार एक सय एक वर्षको उमेरमा निधन भएको छ । निःसन्तान एकल जेष्ठ महिला बलायरको आफ्नै निवासमा निधन भएको हो । उनि पूर्वमन्त्री भक्तबहादुर बलायरकी कान्छी आमा हुन् ।

सामाजिक सुरक्षा भत्ता लिन छिमेकी, आफन्त सबैले सल्लाह दिए पनि स्व. बलायरले भने कहिले लिन मानिनन् । ‘हामीले पनि भत्ता लिनका लागि पटक–पटक भनेउ उनकी बहिनी लाली बलायरले भनिन्,‘दिदीले सधै जवाफमा भन्नु भयो,‘राज्यको ढुकुटीमा जम्मा भएको पैंसा पनि हाम्रै हो, जथाभावी त्यसको खर्च र प्रयोग गर्नु हुँदैन, अफ्ठेरोमा काम लाग्छ ।’

स्व. बलायरले सामाजिक कार्यका लागि चन्दा दान गर्दै आएकी थिइन् । उनले आफ्नो सामान्य कृषि व्यवसायबाट कमायको पैंसा धार्मिक स्थल, धार्मिक महोत्सव एवं सामाजिक क्षेत्रमा लगाउने गर्थिन् ।

सरकारले आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकको जीवनयापनमा आइपर्ने जोखिम न्यूनिकरणमा सघाउ पु¥याउने उद्देश्यले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गर्दछ ।

राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग गर्ने नागरिकलाई सरकारले सम्मान गर्ने नीति पारित गरेको छ । सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा लिन नचाहने नेपाली नागरिकलाई स्थानीय तहले सम्मान गरी प्रमाणपत्र समेत दिने व्यवस्था सामाजिक सुरक्षासम्बन्धी कानूनहरुमा उल्लेख गरिएको छ । यस्ता नागरिकलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले समेत सम्मान गर्ने भएको छ ।

विभागले यसरी स्वेच्छिक रुपमा सामाजिक सुरक्षा भत्ता त्याग गर्ने नागरिकको विवरण संकलन गरी त्यस्ता व्यक्तिलाई सम्मान गर्न स्थानीय सरकारहरुसँग आह्वान गरेको छ । साथै, त्यस्तो विवरण विभागमा समेत पठाउन भनेको छ ।