कर्णालीमा चार वर्षमा फेरिए तीन प्रदेश प्रमुख

कर्णाली प्रदेशमा ४ वर्षको अवधिमा ३ जना प्रदेश प्रमुख फेरिएका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा कर्णालीमा ३ माघ २०७४ मा दुर्गाकेशर खनाललाई कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी दिइएको थियो ।

त्यसपछि नेकपा माओवादी केन्द्र र एमालेबीच पार्टी एकताबीच केपी शर्मा ओली प्रधानमन्त्री भए । उनी प्रधानमन्त्री भएपछि तत्कालिन प्रदेश प्रमुख हटाएर २०७६ सालमा गोविन्दप्रसाद कलौनीलाई प्रदेश प्रमुखमा नियुक्त गरियो ।

फेरि कलौनीलाई हटाएर देउवा सरकारले सोमबार बसेको तिलक परियारलाई प्रदेश प्रमुख बनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

को हुन् तिलक परियार?

कर्णाली प्रदेश प्रमुखमा सिफारिस भएका परियार १५ कात्तिक २००० सालमा रोल्पा सदरमुकाम लिबाङ्गमा जन्मिएका थिए । तिलक आमा भक्तिदेवी र बुबा हस्तबहादुर परियारको चौथो सन्तान हुन् ।

बाँकेका पुराना कम्युनिष्ट नेता उनी माओवादीलाई अन्तरिम व्यवस्थापिका संसदमा ८३ सीट दिँदा सांसद भएका थिए । २०६४ को पहिलो संविधानसभा चुनावमा बाँके क्षेत्र नं १ बाट १६ हजार ८७ मत ल्याउँदै परियार विजयी भएका थिए ।

उनी पार्टीको भातृ संगठन दलित मुक्ति मोर्चाका अध्यक्षसमेत बनिसकेका छन् । माओवादी जनयुद्धको क्रममा २०५४ सालमा पक्राउ परेका परियार २०५८ सालको हापुरे वार्ताका क्रममा छुटेका थिए ।

भारतबाट एसएलसी सरह अध्ययन गरेका परियारले केही समय भूमि सुधार कार्यालयमा खरिदारको काम पनि गरे । फेरि उनले भारतबाट स्नातकसम्मको अध्ययन गरे । स्नातक गरेपछि भने उनी राजनीतिमा सक्रिय भएका हुन् ।

उनी यसअघि प्रदेश २ को प्रमुख बनेका थिए । तर, उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएका थिए ।