भारतमा पेट्रोलियमको मूल्य १७ रुपैयाँसम्म घटेपछि विपन्नलाई राहत

काठमाडौं– भारत सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर घटाएको छ। दीपावलीका अवसरमा भारत सरकारले बिहीबारदेखि लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ प्रतिलिटर र डिजेलमा १० रुपैयाँ प्रतिलिटर उत्पादन शुल्क घटाएको हो।

समाचार एजेन्सी एएनआईले दीपावलीको पूर्वसन्ध्यामा भारत सरकारले पेट्रोल र डिजेलमा लाग्ने उत्पादन शुल्क घटाएको जनाएको छ। ‘दीपावलीका अवसरमा भारत सरकारले पेट्रोल र डिजेलको उत्पादन शुल्क घटाउने निर्णय गरेको छ’, एएनआईले उल्लेख गरेको छ, ‘पेट्रोल र डिजेलमा उत्पादन शुल्क बिहीबारदेखि लागू हुने गरी क्रमशः ५ रुपैयाँ तथा १० रुपैयाँ प्रतिलिटर घटाइएको छ।’

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा भइरहेको कच्चा तेलको मूल्य वृद्धिअनुसार भारत सरकारले निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आएको थियो।

भारतको अर्थ (वित्त) मन्त्रालयले विश्वभरमा ऊर्जाका सबै स्रोतहरुको आपूर्तिमा कमी आएकाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाएको छ। विश्वभरि उर्जा संकट भइरहेको बेला भारत सरकारले भारतमा ऊर्जा संकलट नगहिरिने गरी पेट्रोल र डिजेल पर्याप्त सञ्चित राख्ने भरपूर प्रयास गरेको वित्त मन्त्रालयको भनाइ छ।

‘मुलुकको अर्थव्यस्थालाई गति दिनका लागि भारत सरकारले डिजेल र पेट्रोलको उत्पादन शुल्कमा निकै कटौती गरेको छ’ भारतीय वित्त मन्त्रालयलाई उदृत गर्दै एएनआईले लेखेको छ, ‘उक्त कटौतीबाट पेट्रोलियम पदार्थको खपत बढ्नेछ र महँगी नियन्त्रण हुनेछ। यसबाट गरिब र मध्यम वर्गलाई मद्दत मिल्नेछ।’

पेट्रोलियम पदार्थमा गरिएको उक्त कर कटौतीबाट किसानलाई समेत राहत मिल्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

भारत सरकारले पेट्रोल तथा डिजेलको उत्पादन शुल्कमा लाग्ने कर कटौती गरेपछि राज्य सरकारले पनि विभिन्न कर घटाइरहेका छन्। बीबीसीका अनुसार राज्य सरकारहरुमा अहिले मूल्य अभिवृद्धि कर (भ्याट) घटाउने होडबाजी नै चलेको छ। राज्य सरकारले भ्याट घटाउन थालेपछि पेट्रोल तथा डिजेलको मूल्य ७ देखि १७ रुपैयाँ भारुरसम्म सस्तो भएको छ।

कर्नाटका सरकारले पेट्रोल तथा डिजेलमा लागाइएका विभिन्न कर हटाउँदै ७ रुपैयाँ प्रतिलिटर मूल्य घटाएको छ। त्यस्तै उत्तर प्रदेश सरकारले पेट्रोल तथा डिजेलको मूल्य १२ रुपैयाँ घटाउने घोषणा गरेको छ।

उत्तर प्रदेश सरकारले पेट्रोलमा ७ रुपैयाँ र डिजेलमा २ रुपैयाँ भ्याट घटाउने निर्णय गरेको छ। ‘उक्त भ्याट घटाएसँगै उत्तर प्रदेश राज्यमा पेट्रोल र डिजेलको मूल्य १२ रुपैयाँसम्म कम हुने छ’, राज्यका अतिरिक्त मूख्य सचिव नवनीत सहगललाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

कर्नाटकाका मूख्यमन्त्री बसावराज बोमाईले पनि ट्विट गरेर ‘राज्य कोषमा २१०० करोड रुपैयाँ घाटा भए पनि अब पेट्रोलको मूल्य ९५.९० रुपैयाँ र डिजेलको मूल्य ८१.५ रुपैयाँ प्रतिलिटरका दरले पाइनेछ’, उल्लेख गरेका छन्।

असम राज्य सरकारले पेट्रोल र डिजेलमा लगाइएको विभिन्न कर हटाउने निर्णय गरेर प्रतिलिटर ७ रुपैयाँ छुट दिने घोषणा गरेको छ।

त्रिपुरा सरकारले पनि पेट्रोल र डिजेलको मूल्यमा ७ रुपैयाँ प्रतिलिटर घटाउने निर्णय गरेको छ। त्रिपुराका मुख्यमन्त्री विप्लव देवले मूल्य घटाउने जानकारी दिएका छन्। ‘मूल्य घटाउने आजको निर्णयसँगै पेट्रोल ९८.३३ रुपैयाँ तथा डिजेल ८५.६३ रुपैयाँ प्रतिलिटरका दरले पाइनेछ’, ट्विटरमा विप्लव देवले उल्लेख गरेका छन्।

मणिपुर प्रदेशका मूख्यमन्त्री बिरेन सिंहले मणिपुर सरकारले डिजेल तथा पेट्रोलको मूल्यमा ७ रुपैयाँ छुट गर्ने घोषणा गरेका छन्। मणिपुर राज्यमा यसअघि पेट्रो्लको मूल्य प्रतिलिटर ११०.६० रुपैयाँ तथा डिजेलको मूल्य १००.८० रुपैयाँ प्रतिलिटरसम्म पुगेको थियो।

सिक्किममा पेट्रोलको मूल्य १२ रुपैयाँ तथा डिजेको मूल्य १७ रुपैयाँले घट्ने भएको छ। गोवामा पेट्रोलको मूल्य १२ रुपैयाँ र डिजेलको मूल्य १७ रुपैयाँ प्रतिलिटर घटाइएको छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको भन्दै भारत सरकारले निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आएको थियो। पेट्रोलियम पदार्थमा भारतको केन्द्र सरकार र प्रदेश सरकारले लगाएका विभिन्न शीर्षकका अलगअलग करका कारण भारतमा पेट्रोलियम पदार्थ चरम महंगो हुँदै गइरहेको थियो।

कुनैकुनै राज्यमा पेट्रोलको मूल्य ११६ रुपैयाँ र डिजेलको मूल्य १०६ रुपैयाँसम्म पुगेको थियो। बुधबार केन्द्र सरकारका साथै राज्य सरकारहरुले पनि विभिन्न कर छुटमा गरेको घोषणाले भारतमा सर्वसाधारणलाई निकै राहत मिल्ने भएको छ।

नेपालमा पनि भारतबाटै पेट्रोलियम पदार्थको आयात हुँदै आएको छ। यद्यपि नेपालले आयात गर्दै आएको पेट्रोलियम पदार्थमा भारत सरकारले विगतदेखि नै कर छुट दिँदै आएको छ। कर छुट दिँदै आएपनि अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य अनुसार मूल्यसूची पठाउने गरेको निगमका अधिकारीहरु बताउँदै आएका छन्।